सिड्नी । अस्ट्रेलियालाई कर्मथलो बनाई नेपाली गीत संगीतलाई अंगाल्दै आईरहेकी कलाकार एवम् सर्जक जेनिशा गौतमको नयाँ गीत “गाजल” सार्वजनिक गरिएको छ । २२ मार्च शनिबार इन्द्रेणी फ्यङ्सन सेन्टेर रकडेलमा होली पर्वको अवसरमा अस्ट्रेलियाको सिड्नीमा एन्टाले आयोजना गरेको कार्यक्रममा उक्त गीत र म्यूजिक भिडियो सार्वजनिक गरिएको हो । समलिङ्गीबीचको प्रेम कहानीलाई प्रस्तुत गरिएको म्यूजिक भिडियोले छोटो समयमै दर्शकहरुको उल्लेख्य माया पाएको छ । गीतमा जेनिशा गौतम आफैले स्वर भरेकी छिन् भने डिबी खनाल र स्वयम् गौतमको रचना, सुवास भुषालको संगीत रहेको गीतको म्यूजिक भिडियोमा प्रियना आचार्य र आभा थापाले अभिनय गरेका छन् ।

म्यूजिक भिडियोको कोरियोग्राफर प्रमोद भण्डारीको रहेको छ भने टेकेन्द्र शाहले निर्देशन गरेका हुन् । गीतमा समलिङ्गीबीच पनि माया प्रेम हुन सक्छ भन्ने सन्देश दिन खोजिएको गायिका जेनिशा गौतमले बताईन् ।होलीको जमघटमा फ्यान र फलोअर्सको अगाडि आफ्नो गीत रिलिज गर्न पाउदा आफू निकै खुसी भएको बताइन् । गीत रिलिज भएको २ दिनमा नै २ लाख बढी दर्शकको माया पाएको भन्दै सबै ठाउँबाट राम्रो प्रतिक्रिया आईरहेको उनले बताईन् । उक्त गीतको म्यूजिक भिडियो युटुबमा जेनिशा ईन्टरटेन्टमेन्ट नामक युटबु च्यानलबाट सार्वजनिक गरिएको हो ।







