रेणुका लामा बनिन् अष्ट्रेलियामा एनआरएनए राज्य संयोजक जित्ने पहिलो महिला

तक्दीर अधिकारी
सिड्नी । गैर–आवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको उपाध्यक्ष र साउथ अष्ट्रेलिया संयोजकमा निर्वाचित हुँदै रेणुका लामाले नयाँ रेकर्ड बनाउन सफल भएकी छन् ।

अष्ट्रेलिया एनआरएनएको इतिहासमै पहिलो महिला संयोजक बन्दै उनले नयाँ रेकर्ड बनाएकी हुन् । रेणुकाले ९३३ भोट ल्याउँदा उनकी प्रतिद्वन्द्वी सन्तोषी गौतमले ८३८ भोट ल्याइन् ।

१४ बर्ष अघि विद्यार्थी भिषामा आएकी उनले एडिलेड नेपाली समाज संस्थापक कोषाध्यक्षको रुपमा भूमिका निभाइन् । खुला हृदयको स्वभावकी उनले यहाँ हुने हरेक नेपाली कार्यक्रमहरुमा पुगेर सक्ने योगदान दिने गरेकी छिन् । अघिल्लो चुनावमा उपाध्यक्ष पदमा पराजित भएकी उनको सामाजिक यात्रामा देखिएको योगदानकै कारण यसपटक संयोजक पदमा जित दर्ता गर्न सफल भएको उनले बताइन् ।

‘यससँगै मलाई नयाँ जिम्मेवारी थपिएको छ, यसले काम गर्न अझै उत्साह थपिएको छ’, उनले भनिन्, ‘आगामी दिनमा वाचा र प्रतिबद्धता पूरा गर्नेगरी सर्वपक्षीय एनआरएनए बनाउने अभियानमा लाग्छु ।’

एनआरएनएमा देशबाहिर आएका बोकेका नेपालीहरुको सपना साकार गर्न सहयोग पुर्याउने उनको उद्धेश्य छ । उनले अष्ट्रेलियामा हुर्कदै गरेका बालबच्चाहरुलाई नेपाली कला र संस्कृति सिकाउने अभियान सञ्चालन गर्ने उद्धेश्य रहेको बताइन् ।

‘अष्ट्रेलियन कल्चरमा बढ्दै गरेका केटाकेटीहरुलाई आफ्नो संस्कार भुल्न नदिने गरी बहुसांस्कृतिक हाउस बनाउने प्रोजेक्ट छ ।’ उनले भनिन्, ‘उक्त हाउस बनाउनको लागि आफैले जग्गा दान गर्ने घोषणा गरेकी छु ।’

उनले सोही हाउसमा सबै नेपाली जम्मा भएर आफ्ना कल्चरहरु सिक्ने सिकाउने क्रम चल्ने बताइन् । कृष्णअष्टमीमा भजन, गाँउने, तीज, दशै तिहारमा रमाइलो गर्ने, गुरुङ तथा मगरहरुको संस्कृतिलाई बचाउने काम गर्ने योजना रहेको उनको प्रतिज्ञा छ ।