तक्दीर अधिकारी
सिड्नी । गैरआवासीय नेपाली संघ (एनआरएनए) एनएसडब्लुको आयोजनामा फेब्रुअरी २९ मा हुने प्यारेन्स पिकनिक भव्य हुने भएको छ । पिकनिकको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको एनआरएनए अस्ट्रेलियाका उपाध्यक्ष तथा एनएसडब्लु संयोजक देव गुरुङले जानकारी दिए । उनका अनुसार विगत वर्षमा झै यस वर्ष पनि अभिभावकहरुका लागि वनभोज आयोजना गरिएको हो । सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ ।
भर्खर अस्ट्रेलिया आएका अभिभावक तथा यही रहेका अभिभावकलाई यो वनभोजले एकै ठाउँमा भेला पार्नेछ, संयोजक गुरुङले भने, अभिभावकलाई वनभोज मात्र होइन, निःशुल्क स्वास्थ्य जाँच र विभिन्न ठाउँमा पनि घुमाइने छ । यसपटक ७ सयभन्दा बढीको सहभागिता रहने अपेक्षा गरिएको छ ।’
न्यू साउथ वेल्सको नर्थ उल्लङ्गनको स्टुअर्ट पार्कमा आयोजना हुने उक्त वन भोजमा सहभागिताका लागि २१ फेब्रुअरीसम्म नाम दर्ता गर्नका लागि अनुरोध गरिएको छ। । वनभोजमा सहभागिताका लागि सिड्नीका विभिन्न स्थानबाट बस सेवा उपलब्ध गराइएको छ । कार्यक्रम संयोजक दिपक पहारीले दिएको जानकारी अनुसार बिहान साढे ७ बजे बसले छुट्ने र साँझ ६ बजे घर फर्काउने छ । सिड्नीका विभिन्न स्थानहरु औवर्न, रकडेल, ग्रानभील, क्याम्पसी, वेस्टमेड, कोगराह, क्यामेलटाउन, मिन्टो, ब्लाकटाउन, साउथवेस्ट, ओरान पार्क, हस्नबी, आटामन, हर्सभिल र पेनचस्टबाट बसहरु छुट्ने छन् ।
वनभोजमा अभिभावकहरु खानपिनमा मात्र सीमित हुने छैनन् । विभिन्न सांस्कृतिक कार्यक्रम, ब्याकेश्वर मन्दिर, हेलेन्शवर्ग र नानटिन मन्दिरको अवलोकन गराइने छ । यस्तै खाजा र खानाको स्वादमा दोहोरो प्रतिस्पर्धाको मज्जा अभिभावकले उठाउन पाउने छन् । सामान्य स्वास्थ्य जाँचसँगै लक्की ड्र र गायन प्रतिस्पर्धाको अभिभावकले मज्जा उठाउन पाउने छन् ।
कार्यक्रमका मुख्य प्रायोजक मल्टी डाइनामिक र ओली एसोसिएट रहेका छन् । प्रायोजकमध्ये ओली एसोसिएटका
निर्देशक भवानी ओली ले भने ‘अष्ट्रेलियामा हुने सामाजिक कार्यमा हाम्रो सधै सहयोग रहदै आएको छ तेसै अनुरुप यस पटक पनि हामीले सहयोग गरका हौ।’ तेस्तै अर्का प्रायोजक मल्टी डाइनामिक रियलस्टेटका प्रिन्सिपल मेघराज पौडेलले भने, ‘यो नेपाली समुदायका लागि सहयोग हो । नेपालका विभिन्न ठाउँबाट आएका अभिभावकलाई एनआरएनए (एनएसडब्लु) ले पिकनिकको आयोजना गरेर नयाँ ठाउँमा घुमाउने र समुहमा भेटघाट गराउने अत्यान्त राम्रो कार्यमा मल्टी डाइनामिकले जहिले पनि सहयोग गरिरहेको हुन्छ । अभिभावकलाई सम्मान गर्ने कार्यमा सहयोग गर्न पाउदा हामी धेरै खुशी छौं ।’






