सुर्खेत । आइतबारदेखि सामाजिक सञ्जालमा दुईवटा बाघको मूर्तिको कोलाज गरिएको तस्बिर भाइरल बनिरहेको छ । उक्त मूर्तिको मूल्य र बनावटलाई लिएर सामाजिक सञ्जालभरि चर्चा भइरहेको हो । सो तस्बिर सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ को भैरव सामुदायिक वनभित्र रहेको ‘सहिद पार्क’ को हो ।
नेपाल सरकारका पूर्व सचिव भीम उपाध्यायलगायतका सामाजिक सञ्जाल प्रयोगकर्ताले १३ लाख मूल्यको बाघको मूर्ति भनेर चर्चा गरिरहेका छन् । उक्त बाघको मूर्तिको तथ्य भने फरक रहेको भैरव सामुदायिक वनका अध्यक्ष एवं वीरेन्द्रनगर नगरपालिका–४ का वडा सदस्य अम्मरबहादुर कार्की बताउँछन् । कार्कीले सामाजिक सञ्जालमा गलत तथ्यलाई भाइरल बनाइएको टिप्पणी गरेका छन् ।
भाइरल दुई वटा बाघमध्ये सानो (दायाँपट्टी) बाघ वीरेन्द्रनगरको फलाँटे भन्ने ठाउँमा एक जना कालिगडले ४० हजार रुपैयाँमा बनाएका हुन् । ‘उनले आफैले म बनाउँछु भनेपछि वन समितिले उनलाई बनाउने जिम्मा दिएको थियो । यद्यपि उनले बनाएको बाघको मूर्ति त्यत्ति राम्रो भएन,’ उनले भने ।
वन समितिका अध्यक्ष कार्कीका अनुसार ती कालिगडले ढुङ्गा जोडेर सो मूर्ति भएका थिए । ‘तर पार्कमा राखिएको ४–५ महिनामै भाँचियो । ती कालिगडले पुनः मर्मत गरे पनि दुई महिनामै भाँचियो,’ उनले भने, ‘त्यत्ति राम्रो नभएपछि ३५ हजार मात्रै भुक्तानी गरिएको हो ।’
‘१३ लाख भनेर भाइरल गराइयो, त्यत्रो रकमले त यहाँ पार्कको स्तोरन्नतिमा ठुलो टेवा पुग्थ्यो नि,’ उनले भने । अर्को दायाँ पट्टीको अलि मोटो खाले नयाँ बाघको मूर्तिसँगै एउटा कन्या (एक युवती) को मूर्तिको मूल्य १ लाख ११ हजार हो । ‘पुरानो मूर्ति भाँचिएपछि अलि राम्रो बाघको मूर्ति बनाउनु पर्यो र कर्णालीकै भेषमा झल्किने खालको एक जना युवतीको मूर्ति बनाउने निर्णय भयो ।
काँक्रेविहार र वीरेन्द्रनगरकै लाटीकोइलीको शिव मन्दिर बनाउने ललितपुरका कालिगडहरूसँग मूर्ति बनाउने विषयमा सम्पर्क भयो,’ अध्यक्ष कार्की भन्छन्, ‘पछि उहाँहरूले ६ हजार घटाएपछि हामीले दुई वटा मूर्तिको १ लाख ५ हजार भुक्तानी गरेका छौँ । कन्या र बाघ दुवैको मूर्ति एउटै ढुङ्गाबाट बनेका हुन् । उक्त ढुङ्गा वीरेन्द्रनगरकै लाटिकोईलीको हो ।’
यद्यपि सामाजिक सञ्जालमा भने बाघको मूर्तिलाई मात्रै भाइरल बनाइएकोमा कार्कीको गुनासो छ । अध्यक्ष कार्कीले सम्बन्धित निकायलाई नसोधेर नै जथाभाबी रूपमा गलत सूचना सम्प्रेषण गरेको भन्दै आक्रोश पोखे । ‘१३ लाख भनेर भाइरल गराइयो, त्यत्रो रकमले त यहाँ पार्कको स्तोरन्नतिमा ठुलो टेवा पुग्थ्यो नि,’ उनले भने ।
उनका अनुसार मूर्ति सहिद पार्क अवलोकनमा आउने पर्यटकहरूबाट उठेको टिकटको पैसाबाट बनाइएको हो । पार्कमा प्रवेश गर्नका लागि प्रति व्यक्तिले रु.२० तिर्नुपर्छ । अवलोकन गर्न आउनेहरूले ‘जंगलको बीचमा बाघ लगायतका जङ्गली जनावरहरूको मूर्ति बनाएको भए पनि हुन्थ्यो’ भन्ने सुझाव दिएपछि सो मूर्ति बनाइएको बताए ।






