काठमाडौँ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहितका नेताहरुले मंगलवार राष्ट्रपतिले जारी गरेको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता नगरे कडा कदम चाल्ने चेतावनी दिएका छन् ।
अध्यादेश जारी भएलगत्तै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बसेको सचिवालयका बहुमत सदस्यहरुको भेलाले प्रधानमन्त्रीको कदम असंवैधानिक भएको निष्कर्ष निकालेको हो ।मंगलवार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी अध्यादेश जारी गरेकी थिइन् ।
पार्टीमा सल्लाहनै नगरी संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी भएपछि कार्यकारी अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ खुमलटारमा भेला भएर छलफल गरेका थिए ।
आज जारी गरिएको अध्यादेश गत वैशाखमा पेश गरि ४ दिनपछि फिर्ता गरिएको थियो । अध्यादेशको विषयमा पार्टीमा सरसल्लाह नगरी ल्याइएको र संसद अधिवेशन समेत छल्न खोजिएकोमा नेताहरुको आपत्ति रहेको हो ।
यो अध्यादेश फिर्ता लिन आग्रह गर्दै उनीहरुले फिर्ता नगरिए कडा कदम चाल्ने समेत चेतावनी दिएका छन् । उनीहरुले ओलीको यो कदमले देशलाई नै अधोगतितर्फ धकेल्ने निष्कर्ष निकालेका छन् । अध्यादेशले राष्ट्रिय राजनीतिमा नयाँ तरङ्ग ल्याएको छ ।






