फागुन १ पार्टी एकताका लागि उत्तम दिनः दाहाल

prachandaकाठमाडौं- एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादीहरुको एकता देश, जनता र क्रान्तिका लागि अनिवार्य भइसकेको बताएका छन् । उनले माओवादी पार्टीहरुको एकतामा जोड दिने समुहसँगको भेटघाटमा सो कुरा बताएका हुन् ।

माओवादी पार्टीहरुको एकताका लागि ७ बुँदे आग्रह पत्र पत्रकार दीपेन्द्र रोकायाले पढेर बुझाएपछि दाहालले भने, ‘हामी विरामी भएजस्ता भएका छौं, जिउँदै उपचार गरी एकता अनिवार्य भइसकेको छ । तपाईहरुको अभियानले मलाई भोलिदेखि पहल गर्न सजिलो भयो र यी सात बुँदा मेरा पनि भए ।’

माओवादी एकता देश, जनता र क्रान्तिको जिम्मेवारीका हिसावले हुनपर्नेमा जोड दिदै उनले नेकपा (क्रान्तिकारी माओवादी) को वैठकले एकता सम्बन्धी सकारात्मक निर्णय गरेको, अध्यक्ष किरण, मणि थापा र मातृका यादवसँग छलफल भइरहेको जानकारी दिए । उनको विचारमा आउँदो फागुन १ गते पार्टी एकताको लागि अवसर भएकाले केही न केही घोषणा हुनेछ ।

बुधवार साँझ लाजिम्पाटस्थित निवासमा भएको भेटघाटमा अध्यक्ष प्रचण्डले ‘अव जाग्यो माओवादी’ भन्ने स्थिति निर्माण गरेकोमा माओवादी एकता अभियानमा लागेका प्रा. डा. गोपाल शिवाकोटी, शान्ता श्रेष्ठ, दीपेन्द्र रोकाया, डा. अष्टमान किसी महर्जन, प्रा. अमन श्रेष्ठ, रामचन्द्र हुमागाई, दीपक बुढा, देवकी तिमल्सिना, निलम प्रभा, देवीकृष्ण रोकाया लगायतसँग आभार प्रकट गरेका थिए ।