गायिका सुनिता दुलाल लण्डन आइपुगिन

sunita dulal

लण्डन ।  बेलायतका विभिन्न ठाउंमा आयोजना हुने सांगीतिक कार्यक्रममा भाग लिन लोकप्रिय गायिका सुनिता दुलाल लण्डन आइपुगेकी छन ।

यहांस्थित ब्रिटिश गोर्खा नेपालिज काउन्सिलले बेलायतका विभिन्न ठाउंमा आयोजनामा २ जनवरीदेखि शुरु भएको गोर्खा कल्चरल नाइटमा सहभागी हुन उनी लण्डन आएकी हुन ।

दुलाललाई लिन बिहिवार साँझ हिथ्रो विमानस्थलमा काउन्सिल अध्यक्ष एकराज नेम्वाङ लगायत पदाधिकारी एयरपोर्ट पुगेका थिए । यसअघि कार्यक्रमकै लागि गायिका इन्दिरा जोशी र नृत्य निर्देशक गोविन्द राई यूके आइसकेका छन् । जोशी र राईले पहिलो शो २ जनवरीमा फार्नबोरोस्थित ओकफार्म कम्युनिटी स्कुल हलमा गरिसके । अब सुनिता ९ जनवरीमा रेडिङमा हुने शोबाट सामेल हुंदैछिन् ।

गोर्खा कल्चरल नाईटमा नेपालबाट आएका कलाकारहरुसंगै बेलायतमै बस्ने कलाकार प्रनेश लिम्बू र भूपु लाहुरे” की नायिका “रोमियान वनेम लिम्बु” को उत्कृष्ट नृत्य लगायत स्थानिय कलाकारहरुले पनि साथ दिनेछन् ।

गोर्खा कल्चरल नाइटको शो यहि जनवरी ९ मा रेडिंग ,१० मा ग्रेसमा , १६ मा आसफोर्ड, १७ मा विन्चेस्टर, २३ मा स्वीण्डन, २४ मा लण्डन, २९ मा ननिटन, ३० मा बेजिंगस्टोक र ३१ मा स्कट्ल्यान्ड मा कार्यक्रम निर्धारित छन । सबै कार्यक्रम सकिएपछि फेब्रुअरी महिनाको ८ तारिख कलाकारहरु नेपाल फर्किने कार्यक्रम छ ।

गोर्खा कल्चरल नाइट कार्यक्रमको आयोजक ब्रिटिश गोर्खा नेपालिज काउन्सिल बेलायती सेनामा गोर्खाले सेवा गर्न थालेको दुई सय वर्ष पुगेको अवसरमा हालसालै स्थापना गरिएको हो । एकराज नेम्वांगको नेतृत्वमा रहेको यो काउन्सिलले नेपाली भाषा, साहित्य, संगीत, कलाकारिता, पत्रकारिता र खेलकुदलाई बेलायतसहित विश्वका अन्य भागमा समेत प्रबद्र्धन गर्न लक्ष्य लिएको छ ।