लण्डन । बेलायतमा चालकहरुको अभाव कारण केहि दिनदेखि इन्धनको आपूर्ति ब्यापक अभाव भएको छ । खाध्यान्नको ओसारपसार हुन नसक्दा सुपरमार्केटका तखताहरु खालि भएका छन् । सब्जी पसल रित्तिन लागेका छन् । उपलब्ध वस्तुको मूल्य बढेर मानिसहरु आक्रोशित हुन थालेका छन् ।
लरी चालकको अभावका कारण पम्पहरुमा ईन्धन सक्किएको छ । केहि सिमित मात्रामा खोलिएका पेट्रोल पम्पहरुमा सोमवार लामो लाइन लागेकोले हजारौं बेलायती पेट्रोल स्टेशनहरुमा इन्धनको अभाव भएको थियो । मागअनुसारको तेल उपलब्ध गराउन नसकेको कारण पेट्रोल पम्पहरुले सेवा बन्द गरेका छन् ।
विशेष गरी इन्धन चालकको अभाव भएको कारण पेट्रोल ढुवानी गर्न समस्या हुँदा यहाँका अधिकाशं पम्पहरुले सेवा दिनै बन्द गरेका छन् भने ग्रागकहरुले पनि प्यानिक बाई अर्थात आत्तिएर पेट्रोल किन्न लाम लागेका छन् ।
लरी चालक अभावले इन्धन आपूर्तिमा अवरोध उत्पन्न भएको छ भने जताततै पेट्रोल स्टेशनहरुमा गाडीको ‘क्यू’ देखिन्छ । इसो र बिपीले आफ्ना केही साइटहरुमा इन्धन अभाव भएको जनाएका छन् ।
तर सरकारले भने पेट्रोलको अभाव नरहेको भन्दै सर्वसाधारणहरुलाई नआत्तिन आग्रह गरेको छ । सरकारले केही समयमै चालकहरुको अभावको समस्या समाधान हुने भन्दै नआत्तिन भनेको छ ।
लामो लाइन र तेल अभावका कारण कैयौँ पेट्रोल पम्पहरू बन्द भएसँगै अवस्था सहज बनाउनका लागि सेनालाई तयारी अवस्थामा राखिएको छ।सेनाका ट्याङ्कर चालकहरूलाई आवश्यक परेको अवस्थामा परिचालन गर्नका लागि तालिम दिइने सरकारले जनाएको छ।

तेल आपूर्तिकर्ताहरूले आगामी दिनहरूमा माग सामान्य हुने अपेक्षा गरेको बताएका छन्।
मन्त्रीहरूले आवश्यकता नभएका मानिसहरूले समेत तेल खरिद गरेका कारण पम्पहरूमा लाइन देखिएको र ती रित्तिन पुगेको आरोप लगाएका छन्।
सरकारले ट्याङ्कर चालकहरूको अभाव पूर्ति गर्नका लागि विदेशी एचजीभी चालकहरूका लागि तीनमहिने अस्थायी प्रवेशाज्ञा उपलब्ध गराउन सहमत भइसकेको छ।ब्रेक्जिट, कोभिड, ज्यालाको तह र जेष्ठ जनशक्तिजस्ता कारणले लरी चालकहरूको सङ्कट निम्त्याएको छ।
ब्रिटेन युरोपेली सङ्घ ईयूबाट बाहिरिएपछि कयौँ युरोपेली चालकहरू आफ्नो देश फर्किएका थिए।थप सीमाको झन्झट र आयमा पर्ने असरका कारण कतिपय अन्यत्र काम गर्न गएका थिए।
बेलायती व्यापार मन्त्री ग्रेग ह्यम्ड्सले एक प्रतिशत भन्दा कम पेट्रोल स्टेशन बन्द भएका र पेट्रोल सहजै उपलब्ध हुने बताएका छन्। सरकारले जनतालाई इन्धन खरिदका लागि नआत्तिन आग्रह गरेको छ ।
यो अभाव समाधानका लागि सरकारले विदेशी लरी चालक आउन सहज हुने गरी अस्थायी भिजा इस्किम ल्याउने तयारी गरेको बीबीसीले जनाएको छ ।
अहिले ५ हजार अस्थायी भिजा जारी गर्ने तयारी छ र बेलायत प्रवेश गर्न यस्तो स्किम सिमित समयका लागि हुने बताइएको छ । पेट्रोल अभाव भएको कारण नेपाली व्यावसायी तथा गाडीवाहकहरु प्रभावित भएका छन् ।






