शिब भण्डारी

लन्डन। जनगणनामा नेपालीको पहिचान उल्लेख गर्न माग गर्दै गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको टोलीले बेलायती प्रधानमन्त्री टेरेसा मेलाई ज्ञापन पत्र बुझाएको छ । ब्रेग्जिटको व्यस्तताले प्रधानमन्त्रीले समय दिन नसकेपछि प्रधानमन्त्रीको निजी सचिवालयमार्फत ज्ञापन पत्र बुझाइएको हो ।

प्रधानमन्त्रीको कार्यालय १० डाउनिङ्ग स्ट्रिटमा पुगेर एनआरएन यूके अध्यक्ष योगकुमार फगामी , उपाध्यक्ष पुनम गुरुङ , ग्रेटर रश्मोर नेपाली कम्युनिटी अध्यक्ष जीव बेल्वासे , सहारा यूके अध्यक्ष मीन गुरुङ , अल्डरसट क्षेत्रका सांसद लिओ डोकेर्टी , काउन्सिलर डेभिड क्लिफोर्ड र यूके नेपाल फ्रेण्डसिप सोसाइटी अध्यक्ष एलन सांका सहितको टोलीले प्रधानमन्त्री कार्यालय गै ज्ञापनपत्र बुझाएको थियो । टोलीले बेलायतमा सन् २०२१ मार्च महिनामा हुन गइरहेको जनगणनामा एसियन मात्र नभएर नेपाली क्याटागोरी पनि राख्न माग गरेको महासचिव आर के त्रिपाठीले जानकारी दिए ।

प्रधानमन्त्री कार्यालयबाहिर बेलायतस्थित विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिहरु ऐक्यबद्धताका लागि भेला भएका थिए । एनआरएनए आइसिसि उपाध्यक्ष कुल आचार्य, सुर्य गुरुङ ,संगीता मरहट्टा ,एनआरएन युकेका उपाध्यक्ष शेरबहादुर सुनार, प्रेम गाहा मगर,ललित कुमार नौपाने,सुशिला राई,,महासचिव आर के त्रिपाठी,काउन्सिलर लक्ष्य गुरुङ ग्याम गुरुङ,  दयानिधि सापकोटा,रण केशी, कमल पौडेल,एनआरएन युकेका पदाधिकारी, सल्लाहकार एवं सदस्यहरु सहित कार्यक्रमको लागि बेलायतको मिडल्याण्ड र त्यस क्षेत्रका नटिङ्गहम, लेस्टर र पिटरबरो लगायतका क्षेत्रबाट डेढ दर्जन अगुवाहरु सहभागी भएका थिए ।

बेलायत प्रधानमन्त्री कार्यालयको आगाडी करीब एक सयको हाराहारीमा नेपाली उपस्थिति रहेको लन्डन नेपाल न्युजका सहकर्मी प्रकाश कंडेलले जानकारी गराए ।

बेलायतमा नेपालीहरुको बसोबासको क्रम बढिरहेकाबेला जनगणनामा नेपाली नै उल्लेख गर्न एनआरएन यूकेले दबाब गरिरहेको छ । यही विषयमा एनआरएनए युकेले यसअघि नै आफ्नै कार्यालय अल्डरसटमा छलफल भएको हो।

एनआरएन यूकेमा फगामी नेतृत्वमा कार्यसमिति चयन भएसँगै विभिन्न राज्यमा शाखा विस्तारलगायतका सृजनशील कामहरु हुँदै आएका छन् ।

 

फेसबुक कमेन्ट