सिड्नी । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) न्यु साउथ वेल्स राज्य अस्ट्रेलियाको आयोजनामा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३ औँ जन्म जयन्ती तथा देउसी भैलो कार्यक्रम हुने भएको छ ।
नेपालीहरुको दोश्रो ठुलो पर्व शुभ दिपावली तथा नेपाली साहित्य जगतका एक धरोहर महाकवी लक्ष्मीप्रसाद देवकोटाको जन्म जयन्तीको अवसर पारेर २२ अक्टोबर शनिवार बिहान ११ः३० बजेदेखि २ः३० बजेसम्म झरना फक्ंसन केन्द्र रक्डेलमा कार्यक्रम आयोजना गरेको अनेसास न्यू साउथ वेल्स राज्य परिषद अध्यक्ष ममता तिवारीले लण्डन नेपाल न्यूजलाई जानकारी दिईन् ।
नेपाली साहित्यको संरक्षण एवम् प्रवद्र्धन र अग्रजको सम्मान गर्ने उद्धेश्यले आयोजना गरिएको कार्यक्रममा विभिन्न कविहरुको रचना बाचन, नेपाली बालबालिकाहरुको नेपाली मौलिक सांस्कृतिक नृत्य सहित रमाईलो देउसी भैलो कार्यक्रम रहने बताईएको छ ।
उक्त कार्यक्रममा अस्ट्रेलियामा रहेका सम्पूर्ण नेपाली कवि एवम् साहित्यकारहरुलाई आफ्नो सिर्जना सहित उपस्थित हुन समेत उनले आग्रह गरेकी छिन् । ईच्छुक कविहरुले संस्थाको आधिकारिक मेल अथवा अन्य व्यक्तिगत रुपमा मेल अथवा म्यासेज गरेर पनि नाम टिपाई सहभागीता जनाउन सकिने उनले बताईन् । कार्यक्रममा निशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।
महाकवि देवकोटाको जन्म विसं १९६६ मा कात्तिक कृष्णऔंसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौं डिल्लीबजारमा भएको थियो । दस वर्षको उमेरमा कविता लेख्न सुरू गरेका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् ।
नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गरेका देवकोटाको ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित सबैभन्दा बढी बिकेको पुस्तक हो ।
परदेशमा रहेर पनि नेपाली भाषा साहित्य तथा कलाको संरक्षण गर्ने उद्धेश्य राखेको अनेसासले विभिन्न समयमा अस्ट्रेलियामा रहेका नेपालीहरुलाई जमघट गराउँदै आएको छ । हाल विश्वका विभिन्न देशमा रहेको यो संस्था हाल अस्ट्रेलियाका समेत विभिन्न राज्यहरुमा रहेको छ । न्यू साउथ वेल्स च्याप्टरको संस्थापक अध्यक्ष भिमसेन सापकोटा हुन् ।






