अष्ट्रेलियाको मेलवर्नमा ‘नेपाल’ हेर्न उत्रिए हजारौं नेपाली, यस्तो सम्म देखियो (फोटो)

अनिश शर्मा गैरे

मेलवर्न । गैरआवासीय नेपाली संघ (एनआरएनए) भिक्टोरियाको आयोजनामा मेलवर्नमा नेपाली पर्व २०२२ भव्य रुपमा सम्पन्न भएको छ ।

ब्लुबेरी रियलस्टेटको मुख्या प्रयोजनासहित दर्जनौ संघसंस्था तथा नेपाली,गैरनेपालीव्यावसायहरु, सामाजिक संघसंस्थाहरुसँगको सहकार्यमा मेलवर्नको मुटु मानिने फिडरेशन स्क्वाएरमा कार्यक्रम भव्य रुपमा सम्पन्न भएको हो ।

हरेक दुई बर्षको अवधिमा आयोजना गरिने नेपाली पर्व कोभिडको कारण २०२० मा हुन सकेको थिएन । ४ बर्षपछि नेपालीहरु भेट हुन पाएकै कारण पनि यसपटक हजारौं व्यक्तिहरुको विशेष उपस्थिती रहेको थियो ।

पर्वमा ५० हजार भन्दा धेरै मानिसहरु सहभागि भएको आयोजकको अनुमान छ । जसमा नेपालीहरु मात्र नभएर हजारौंको संख्यामा अष्ट्रैलियाका नागरिकहरु तथा अन्य देशका मानिसहरु पनि सहभागि भएर पर्वमा रमाएका थिए ।

नेपाली कला संस्कृतिको संरक्षण गर्ने, यही जन्मी/हुर्कर्दै गरेका नयाँ पिँढीहरुलाई नेपाली कला, संस्कृति भाषा हस्तान्तरण गर्ने उद्धेश्यसहित सो कार्यक्रम आयोजना गर्ने गरिएको र यस बर्षपनि उक्त उद्धेश्य पूराभएको विश्वास आयोजक संस्था एनआरएनए भिक्टोरियाका अध्यक्ष हरि खड्काले बताए ।

कार्यक्रममा अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेलले सम्बोधन गर्दै नेपाली, भाषा, संस्कृति, कला, परम्परा, नेपाली खानालाई अष्ट्रेलियाको बहुसांस्कृतिक समुदायमा स्थापित गर्न यो कार्यक्रम महत्वपूर्ण रहने बताए ।

उनले यस प्रकारका मेलापर्व कार्यक्रमले नेपाली पर्यटन विकासमा टेवा मात्र पुग्ने नभई अष्ट्रेलिया र नेपालीवीचको द्विपक्षीय सम्बन्ध विकास गर्न टेवा पुग्ने बताए । राजदूत पोखरेलसहित एनआरएनए अष्ट्रेलियाका अध्यक्ष नन्द गुरुङले संयुक्त रुपमा वत्ती बालेर कार्यक्रम उद्घाटन गरेका थिए ।

विहान १० बजे नेपाली बाजागाजा, भजनकीर्तन तथा सांस्कृतिक नाँच र झाँकीहरुसहित पार्लियामेन्ट हुँदै कार्यक्रम स्थलसम्म विशेष सांस्कृतिक प्रभातफेरी गरेसँगै कार्यक्रम शुरू भएको थियो ।

त्यसैगरी बालबालिकाहरुले राष्ट्रिय गान प्रस्तुत गरे भने बाल चौतारी वेस्टको आयोजनामा सांस्कृतिक नृत्य प्रस्तुत भयो । भगवान गौतम बुद्धको महिमा झल्काउने प्रस्तुती, विभिन्न राष्ट्रिय गानमा नृत्य, सांस्कृतिक नृत्यहरु प्रस्तुत भएको कार्यक्रममा विद्यार्थी सल्लाहकार काउन्सिलका प्रतिनिधिहरु, नेपाली समुदायिक संघसंस्थाका प्रतिनिधिहरु, विभिन्न स्पोन्सरका प्रमुख तथा प्रतिनिधिहरु, अष्ट्रेलियाका विभिन्न शहरहरुबाट उपस्थित एनआरएनए तथा अन्य नेपाली संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, तथा हजारौं नेपाली तथा अन्य राष्ट्रियताका नागरिकहरु उपस्थित भएका थिए ।

त्यसलगत्तै कार्यक्रममा प्रमुख अतिथि राजदूत पोखरेलसँगै विभिन्न व्यक्तित्वहरुले सम्बोधन गरे । कार्यक्रमका अध्यक्ष तथा एनआरएनए भिक्टोरियाका अध्यक्ष हरि खड्काको स्वागत मन्तव्य रहेको कार्यक्रममा अष्ट्रेलियाका संघीय तथा प्रादेशिक सरकार तथा संसदको तर्फबाट कालवेलका संघीय सदस्य सांसद मारिया भल्बाकिनौं, पिटर खली, भिक्टोरियाका सांसद लिली डि एम्ब्रोसिस, नेटेली हटचिन्स, डेविड साउथविक, कौशल्या भघेला, टिएन किएन, ब्रोनवीन हाल्पेन्नी, काउन्सिलर जोसेफ हुवेल, काउन्सिलर मार्क रिली, पिटर मानर्ड, जस्मिन हिल, भिक्टोरियाको लागि नेपाली अवैतनिक दूत चन्द्र योञ्जन, भिक्टोरिया बहुसांस्कृति कमिशनका प्रमुख भिभिन नुगेन, रिगंउडका लिवरल पार्टी प्रतिनिधि सिन्थीया वाटसन, भिक्टोरियाका आपतकालिन व्यवस्थापनका प्रमुख एन्ड्रयू क्रिस्प, एनआरएनए आईसीसी अपाध्यक्ष दुर्गा आचार्य, सचिव नारायण काफ्ले, एनआरएनएका नेता तथा प्रखर वक्ता दिनेशराज जोशी, भिक्टोरिया नेपाली समाज (न्याभ)का अध्यक्ष प्रेम राज उप्रेती लगायतले सम्बोधन गरेका थिए । सम्बोधनको क्रममा उनीहरुले यस नेपाली पर्वले अष्ट्रेलिया र नेपालको सम्बन्ध विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा अष्ट्रेलियाको राष्ट्रिय राजनीति र सांस्कृतिक विविधतामा नेपालीको उपस्थिती अझै बलियो हुने विश्वास लिए ।

उक्त अवसरमा एनआरएनएका आईसीसी प्रतिनिधिहरु, एनसीसी प्रतिनिधिहरुले सम्बोधन गरेका थिए भने उपस्थित हुन असमर्थ व्यक्तित्वहरुले आफ्नो प्रतिनिधिहरुमार्फत सन्देश प्रवाह गरेका थिए ।
एनआरएनए अष्ट्रेलिया महासचिव राजु अधिकारी, एनआरएनए अष्ट्रेलिया सचिव सन्ध्या शाह तथा भिक्टोरिया महासचिव गणेश कंडेलले सञ्चालन गरेको सो कार्यक्रममा नेपालका बहुचर्चित राष्ट्रिय कलाकार बद्री पंगेनी र एलिना चौहानको मनोरञ्जनात्मक प्रस्तुतीले माहोल तताएको थियो भने स्थानीय अन्य विभिन्न कलाकारहरुको सांगीतिक प्रस्तुती रहेको थियो । अष्ट्रेलियामा चर्चित व्याण्डको प्रस्तुती रहेको उक्त अवसरमा नेपाली परम्परागत खानाहरु, परम्परागत पोशाक, परम्परागत सामग्रीहरुको प्रदर्शन गरिएको थियो ।

अष्ट्रेलियामा संगठित नेपाली समुदायका विभिन्न संस्था, आयोजना भइराख्ने विभिन्न कार्यक्रम, नेपाली भाषा विद्यालय, नेपाली संगीत तथा नृत्य विद्यालय, नेपाली साहित्यिक संघसंथा आदिले कार्यक्रम सफल बनाउनको निम्ती भूमिका खेलेका थिए ।

विश्वव्यापिकरणको यो समयमा नेपाली पहिचानलाई विश्वमाझ पुर्याउनु, नेपालको पर्यटनमा सहयोग गर्नु, नेपाली एकता तथा सद्भावको संदेशलाई विश्वमाझ पुर्याउनु, नेपाली भाषा, कला, संस्कृति, परम्परा, खाना लगायत नेपाली मौलिकताको प्रबद्र्धन गर्नु र नयाँ पुस्तालाई नेपालको माटोसंग जोडिराख्नु नेपाल फेस्टिवल आयोजना गर्नुका मूख्य उद्देश्य रहेको एनआरएनए भिक्टोरिया अध्यक्ष हरि खड्काले बताए । पहिलो पटक २००६ को अप्रिल महिनामा सिड्नीमा अष्ट्रेलियाव्यापी बृहत नेपाल फेस्टिवलको आयोजना गरिएको थियो भने त्यसपछि हरेक दुई बर्षमा यो कार्यक्रम आयोजना हुँदै आएको छ । हरेक पटक १० हजार मानिसहरुको उपस्थिती थपिने यस महोत्सवको २०१८ को संस्करणमा ४५ हजार भन्दा बढी मानिसहरु उपस्थित थिए । यसपटक ५० हजार भन्दा बढी मानिसहरु सहभागि भएको अपेक्षा आयोजकले गरेका छन् । यद्यपि अन्तिम तथ्यांक भने आउन बाँकी छ ।

नेपाल फेस्टिवललाई नयाँ पुस्ताले नेपालसंग भावनात्मक साइनो गाँस्ने सुन्दर क्षणको रुपमा लिइएको एनआरएनएका पूर्वअध्यक्ष केशव कंडेलले बताए । यस वर्ष मेलबर्नमा आयोजना गरिएको नेपाल फेस्टिवल मेलबर्नको छैठौं नेपाल फेस्टिवल हो भने यसको मूल नारा सेलिब्रटिङ्ग कल्चर, इम्ब्र्यसिंग डाइभरसिटि अर्थात संस्कृतिको खुसीयाली मनाऔं, विविधतालाई अंगालौं भन्ने तय गरिएको थियो । अष्ट्रेलियाको शहरमा आधा दर्जन नेपाली झण्डा फहराएको देख्दा नेपालीहरु खुशीले हर्षित भएका थिए ।

कार्यक्रममा उपस्थित अन्य देशका राष्ट्रियता बोकेका मानिसहरुले पनि नेपाली परम्परा, गीत संगीतको मुक्तकण्ठले प्रशंसा गरेका थिए ।

उक्त कार्यक्रम लण्डन नेपाल न्यूजले प्रत्यक्ष रुपमा प्रशारण गरेको थियो । हेरौ थप तस्वीरहरु