त्रिपाठीको सरकारलाई चुनौती : क्षेत्रको सीमा र संख्या निर्धारण गर्ने संवैधानिक बाटो देखाऊ

काठमाडौँ- प्रतिनिधिसभाका सांसद हृदयश त्रिपाठीले विशेष, संरक्षित र स्वायत्त क्षेत्रको सीमा र संख्या निर्धारण गर्ने संवैधानिक बाटो देखाउन सरकारलाई चुनौति दिएका छन् ।

सांसद त्रिपाठीले सरकारले संवैधानिक व्यवस्था अनुसार गाउँपालिका र नगरपालिकाको सीमा र संख्या निर्धारण गरेपनि विशेष, संरक्षित र स्वायत्त क्षेत्रको सीमा र संख्या निर्धारण नगरेर मुलुकमा संवैधानिक संकट निम्त्याएको आरोप समेत लगाएका छन् ।

प्रतिनिधिसभाको आईतबारको बैठकका विशेष समय लिएर बोल्दै उनले विशेष, संरक्षित र स्वायत्त क्षेत्रको सीमा र संख्या निर्धारण गर्ने बाटो खोजेर मुलुकलाई संवैधानिक संकट आउन नदिन पनि सरकार र सम्बन्धित सबै पक्षको गम्भिर ध्यानाकर्षण गराए ।

सरकारले ६ महिनाको समयावधि दिएर गठन गरेको संवैधानिक आयोगले गाउँपालिका र नगरपालिकाको मात्रै सीमा र संख्या निर्धारण गरेको थियो ।

तर, विशेष, संरक्षित र स्वायत्त क्षेत्रको सीमा र संख्या निर्धारण गर्ने दायित्व सरकारले पूरा नगरेकोमा सांसद त्रिपाठीको आपत्ति छ ।

उनले संवैधानिक व्यवस्था अनुसार काम नगरेर संविधानको पिता, काका र मामा भनिनेहरुले नै संवैधानिक संकट खडा गरेको गम्भिर आरोप पनि लगाउनु भयो ।