निन्फाले मनायो विश्व आदिवासी दिवस

सिड्नी ।  आदिवासी जनजाति महासघं (निन्फा) अष्ट्रेलियाले विश्व आदिवासी दिवस विविध कार्यक्रम सहित सम्पन्न गरेको छ । ६ अगष्ट शनिवार म्यारिकभिल टाउन सेन्टरमा विविध कार्यक्रम सहित दिवस मनाईएको हो ।

नेपालमा रहेका आदिवासी जनजातिहरुको हक अधिकार सुनिश्चित गर्न सबै ठाउँमा रहेका आदिवासी जनजातिहरु एकजुट हुनुपर्ने सन्देशका साथ आयोजना गरिएको कार्यक्रममा अष्ट्रेलियाका लागि नेपाली राजदुत महामहिम कैलाशराज पोखरेलको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा आदिवासी जनजातिहरुको मौलिक भेषभुषा एवम् संस्कृतिहरु झल्किने विभिन्न प्रस्तुतीहरु प्रस्तुत गरिएको थियो । तामाङ,गुरुङ,राई लिम्बु,मगर,थारु,छन्त्याल,राजवशीं,चौधरी लगायत ११ वटा जातिका भेषभुषा प्रस्तुत गरिएको थियो भने विश्वभर रहेका आदिवासीहरुको आफ्नै संस्कृति प्रस्तुत गरिएको थियो । त्यस्तै बगांली नृत्य र आदिवासीहरुका मौलिक खानाका परिकारहरु समेत समावेश गरिएको थियो ।त्यस्तै सोही अवसरमा नेपाली कलाकारहरु मनु नेम्बाङ,फुल कुमार बोम्जन तामाङ लगायतका कलाकारहरुले आफ्नो सागींतिक प्रस्तुती समेत दिएका थिए ।

कार्यक्रममा नेपाली तथा अन्य देशका गरी झण्डै ३ सय जनाको उपस्थिति रहेको थियो । कार्यक्रममा साम्सद लिन्डा बर्नीले भिडियो सन्देश पठाएकी थिईन् । सो अवसरमा न्यू साउथ वेल्स राज्यका महावाणिज्य दूत दिपक खड्का, निन्फाका संस्थापक अध्यक्ष गणेश तामाङ लगायतले सम्बोधन गरेका थिए ।

निन्फाका अध्यक्ष अरुण तामाले निन्फाले विशिष्ट व्यक्तित्वहरुलाई बोलाएर यस्तो गरिमामय कार्यक्रम गर्न पाएकोमा खुसी लागेको बताउँदै आगामी दिनमा पनि यस्ता कार्यक्रमहरु निरन्तर आयोजना गर्ने बताए । विशेषगरी निन्फाले आदिवासी नेपालीहरुको विषयमा सचेतना फैलाउने,एकताबद्ध गर्ने लगायतका काम गरेको उनको भनाई थियो ।

निन्फाका उपाध्यक्ष लक्ष्मण गुरुङको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन महासचिव सुदर्शन थापा मगर र सचिव मोनिका श्रेष्ठले संयुक्त रुपमा गरेका थिए ।