तक्दीर अधिकारी
सिड्नी । पूर्व युवराज्ञी हिमानी राज्यलक्ष्मी शाह अष्ट्रेलिया आईपुगेकी छिन् । मंगलबार बेलुकी उनी सिड्नी अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेकी हुन् ।
पूर्व युवराज्ञी हिमानीसगैं पूर्व राजकुमारी शीतश्मा राज्यलक्ष्मी देवी शाह र पूर्व राजकुमारी डिलाशा राज्यलक्ष्मी देवी राणा पनि अष्ट्रेलिया आएका छन् ।
त्यस्तै टोलीको साथमा साइक रेश्मा राणा, सदस्य सचिव.डा अर्पणा शाह, सञ्चालक समितिका सदस्य अधिवक्ता अनिता शर्मा, कानुनी सल्लाहकार स्मिता सिंह, पूर्व युवराज्ञी हिमानी राज्यलक्ष्मीदेवी शाहका स्वकीय सचिव समेत आएकी छिन् ।
पूर्व युवराज्ञी हिमानी राज्यलक्ष्मी शाह सहितको टोलीलाई स्वागत गर्न हिमानी ट्रष्ट अष्ट्रेलियाको तर्फबाट अञ्जना बस्नेत कार्की, अध्यक्ष रेश्मा थापा, महासचिव पारु पाण्डे, कोषाध्यक्ष किरण भण्डारी, प्रवक्ता रोशन कोईराला, जनपद कोईराला लगायत सञ्चारकर्मीहरुको टोली विमानस्थल पुगेको थियो ।
पूर्व युवराज्ञी हिमानी शाह हिमानी ट्रष्ट अष्ट्रेलियाले आयोजना गरेको विभिन्न कार्यक्रममा सहभागी हुनेछिन् । ट्रष्टले कोष सङ्कलनका लागि विभिन्न कार्यक्रमको आयोजना गरेको छ ।
हिमानी ट्रष्ट नेपालले नेतृत्व गरेको ‘एक्सेस टु क्लिन ड्रिङ्किङ वाटर प्रोजेक्ट’ लाई सहयोग गर्ने उद्धेश्यले ३ वटा छुट्टा छुट्टै कार्यक्रमको आयोजना गर्न लागिएको र उक्त कार्यक्रममा पूर्व युवराज्ञी हिमानी शाह सहभागी हुने हिमानी ट्रष्ट अष्ट्रेलियाकी अध्यक्ष अञ्जना बस्नेत कार्कीले जानकारी दिईन् ।
के के छन् कार्यक्रम ?
झण्डै १ हप्ता भन्दा लामो अस्ट्रेलिया बसाईमा पूर्व युवराज्ञी शाहले विभिन्न कार्यक्रममा सहभागी हुनेछिन् । ट्रष्टको कोष सकंलन देखि महिला शशक्तिकरणका विषयमा आयोजना गरिएका कार्यक्रममा समेत उनी सहभागी हुने कार्यतालिका छ ।
उनी अगष्ट १० बेलुकी ६ बजेदेखि ८ बजेसम्म नर्थ क्यामरेमा आयोजना गरिएको महिला सशक्तिकरण कार्यक्रममा सहभागी हुनेछिन् । उक्त कार्यक्रममा पूर्व युवराज्ञी शाहले ट्रष्ट स्थापना देखि हालसम्म गरेका कार्यहरु प्रस्तुत गर्ने र अन्य नेपाली तथा अष्ट्रेलियाका स्थापित एवम् दिग्गज महिलाहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
त्यस्तै अगष्ट ११ तारिखमा ट्रष्ट सदस्यहरु र हिमानी शाह तथा नेपालबाट आएका प्रतिनिधिहरुसगं आन्तरिक भेटघाट तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ भने अगष्ट १२ तारिखमा सिड्नीको पार्लामेन्ट हाउसमा मन्त्री तथा स्थानीय नेताहरुको सम्बोधनमा कार्यक्रम सञ्चालन हुने र सोही दिन च्यारिटी कार्यक्रम समेत गर्ने कार्यतालिका रहेको छ ।
त्यस्तै अगष्ट १४ तारिखमा विभिन्न सांस्कृतिक स्थल भ्रमण कार्यक्रम तय गरिएको छ भने अगष्ट १५ तारिख भेटघाट कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा बहुसांस्कृतिक मन्त्री होर्न मार्क क्युरी, महिला सुरक्षा र घरेलु तथा यौन हिंसा रोकथाम मन्त्री नेटाली पेटा वार्ड लगायत पनि सहभागी हुँदैछन् ।






