शिव भण्डारी,
लण्डन । गोर्खा सत्याग्रह सघंर्ष समितिका प्रतिनिधिहरुले र नेपालका नेताहरुसगं आफुहरुले भूतपूर्व गोर्खाहरुका विषयमा गरिरहेका कार्यहरुका विषयमा जानकारी गराएका छन् ।
भूतपूर्व गोर्खाहरुका समान पेन्सन र समान अधिकार लगायतका माग राख्दै लामो समयदेखि आन्दोलनरत समितिले ती आन्दोलनबाट प्राप्त उपलब्धी तथा बेलायत सरकारसगं भईरहेका प्रयासहरुका बारेमा साउथ ह्यारोको गोल्डेन सिपमा औपचारिक कार्यक्रमको आयोजना गरी जानकारी गराएको हो ।
भूतपूर्व गोर्खाहरुको समस्या समाधानका लागि बेलायत र नेपालबीच हुने भनिएको सरकारस्तरीय (जिटुजी) वार्ता बारे भईरहेको प्रयास तथा अन्य विविध विषयमा रहेर छलफल भएको गोर्खा सत्याग्रह सघंर्ष समितिका सयोंजक कृष्ण बहादुर राईले जानकारी दिए ।
संयोजक राईले लामो समयदेखि गोर्खाको मुद्धा लिएर आफुहरुले थालेको सघंर्ष र आन्दोलनको उपलब्धी स्वरुप नेपाल सरकार र बेलायत सरकारबीच हुन लागेको वार्ताले आफुहरुमाथि न्याय हुने कुरामा विस्वस्त रहेको बताए ।
भूपू गोर्खाहरुका मागलाई लिएर २ पटक सम्म अनसन बसेका अभियान्ता ज्ञानराज राइले आफुहरु बेलायत सरकार र नेपाल सरकारको वार्ताको लागि दिएको समय कुरिरहेको र त्यसो नभए पुन : आन्दोलनमा जाने चेतावनी दिए ।
“हामीले थालेको आन्दोलन दुई देशबीच द्धिपक्षीय वार्ता हुने भनेपछि केही समयका लागि स्थगित गरेका छौँ,राईले भने वार्ता छिट्टै नै अगाडी नबढे हामी पुनः आमरण अनसन लगायतका अन्य शसक्त आन्दोलनका कार्यक्रमहरु गर्छौँ ।”
छलफल कार्यक्रममा नेकपा एमाले आर्थिक समिति सभापति कृष्ण दाहालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रतिनिधि सभा सदस्य प्रमिला राई, सघिंय संसदका अर्थ सचिव सुरेन्द्र अर्याल, सोलिसिटर राजु थापा, उत्तरमान तिगेला, नागरिकता निरन्तरता सयोंजक सुन बहादुर तामाङ,सचिव हेम सुनुवार लगायतले पनि आफ्नो धारणा व्यक्त गरेका थिए ।
कार्यक्रममा सहभागी भएका नेपालका नेताहरुले नेपाल सरकार र संसदमा सम्पूर्ण गोर्खाहरुका माग र अन्य विषयहरु उठाउने र शीर्ष नेताहरुसगं बहस गरेर छिटो भन्दा छिटो निकासको बाटो निकाल्ने प्रतिबद्धता व्यक्त गरेका थिए उनीहरुले गोर्खा सत्याग्रहले उठाएका मागहरु जायज भएको र यो आफुहरुको पनि समस्या भएको भन्दै यस विषयमा आफुहरु गम्भीर बनेको धारणा व्यक्त गरे ।
गोर्खा मुद्धालाई लिएर लामो समयदेखि आन्दोलनरत सघंर्ष समितिले बेलायत सरकार र नेपाल सरकारबीच वार्ता हुने भनेपछि आन्दोलन स्थगित गरेका थिए । उनीहरुले वर्ता नभए सामुहिक आमरण अनसन बस्ने समेत घोषणा गरिसकेका छन् । यसअघि जुलाई १ भित्र वार्ताको मिति तय नभए जुलाई २१ बाट सामूहिक आमरण बस्ने चेतावनीसहित सत्याग्रह समितिले बेलायती रक्षामन्त्री बेन वालेसलाई अल्टिमेटम-पत्र पठाएको थियो।
कार्यक्रममा सघंर्ष समितिका तर्फबाट सहभागी प्रतिनिधिहरुले आफ्ना मागहरु प्रति गम्भीर हुन आग्रह गरे । सत्याग्रह संघर्ष समितिकी महासचिव शैन्द्र थापाले सञ्चालन गरेको कार्यक्रममा सहभागी वक्ताहरुले आ-आफ्नो धारणा व्यक्त गरेका थिए । कार्यक्रममा करिब १ सय भन्दा बढीको उपस्थिति रहेको थियो ।
कसले के भने हेर्नुहोस् भिडियोमा






