इटहरी- इटहरी उपमहानगरपालिकामा शुक्रबार रातभर परेको बर्षाका कारण बस्तीमा बाढी पस्दा ६ जनाको मृत्यु भएको छ । इटहरी स्थित टेङग्रा र शेरा खोलामा आएको बाढी इटहरीका बिभिन्न वडाहरुमा पसेर क्षति पुर्याएको हो ।
चार वटा शव इटहरी र मोरङको सिमामा पर्ने बुढी खोलामा फेला परेको छ । दुई वटा शव इटहरी र हासपोसामा भेटिएको प्रहरीले जनाएको छ । शवको पहिचान हुन बाँकी छ । बाढीले मानविय क्षति पुर्याउनुका साथै लाखौंको भौतिक क्षति समेत पुर्याएको छ ।
इटहरीको गैरीगाँउमा ३० वटा घर बगाएको छ भने २ जना वेपक्ता छन । इटहरीको सिमा नजिक रहेको मोरङ सुन्दरहरैचा ४ मा ६० वटा घर बगाएको छ भने ३ जना बृद्ध महिला हराएका छन् ।
बाढीले पूर्व पश्चिम राजमार्ग अन्तर्गत इटहरीको लविपुरमा सडक भत्काएपछि सडक अबरुद्ध छ । काठमाडौं आउने सबारी साधन तथा मालवहाक सबारी बाटोमै अलपत्र परेका छन ।
रातको १ बजतिर एक्कासी बाढी इटहरीको बस्ती तर्फ छिरेपछि निन्द्रामा रहेका कतिपयले ज्यान जोगाए पनि सामान निकाल्न भने सकेनन् । लत्ताकपडा, अन्नपात लगायतका समाग्रीहरु बाढीले बगाएको छ ।
झोलुंगे पुल बगायो
यस्तै बुढि खोलाको बाढीले डिभिएम स्कूल नजिकैको झोलुंगे पुल बगाएको छ ।
इटहरीमा राती ४ बजे सम्म ५ फिट सम्मको बाढी आएपछि स्थानीय त्रसित बनेका थिए । अहिले बाढीको सतह घटेको छ । सुरक्षाकर्मी र सर्वसाधरणको सयुक्त प्रयासबाट बाढीमा फसेकाहरुको उद्धार कार्य जारी छ ।
हेडक्वाटर इटहरी समेत जलमग्न
नेपाली सेनाको हेलिकप्टर पनि उद्धारमा परिचालन गरिएको छ । नेपाली सेनाको पूर्व पृतना हेडक्वाटर इटहरी समेत जलमग्न बनेको छ ।
सञ्चार विद्युत सेवा अवरुद्ध
बाढीले इटहरी क्षेत्रमा नेपाल टेलिकमको सेवा समेत अबरुद्ध भएकाले सुचना संकलन र उद्धारमा कठिनाइ भएको छ । रातीदेखिनै इटहरी क्षेत्रमा बिद्युत सेवा समेत अबरुद्ध छ । सडक पुरै बाढीले ढाकेर सवारी साधन चल्न असहज भैरहेको छ ।
पानीको बहाव बर्षकै उच्च
सप्ताकोशी नदिमा पानीको बहाव बर्षकै उच्च स्थानमा पुगेको छ । लगातारको बर्षा पछि पानीको सतह बढिरहेको छ । आज बिहानको मापन अनुसार सप्तकोशी नदिमा २ लाख ६९ हजार २ सय ५० प्रतिक्युसेक पानी बहेको कोशी व्यारेजले जानकारी दिएको छ ।
सप्तकोशीका ५६ ढोका मध्ये ३४ ढोका खुल्ला गरिएका छन् । कोशी व्यारेजमा यसअघि नै खतराको संकेत स्वरुप रातो झण्डा गाडिएको छ । कोशीमा पानीको मात्रा बढिरहेको छ ।






