अमेरिका- अमेरिकाका उपराष्ट्रपति माइक पेन्सले गर्भपतन रोक्नका लागि राष्ट्रपति ट्रम्पले सर्वोच्च अदालतमा गर्भपतन विरोधी न्यायाधिसको नाम अघि सार्ने बताएका छन् । वासिङ्टनमा आयोजित गर्भपतन विरोध र्यालीलाई सम्बोधन गर्दै उनले यसो भनेका हुन् ।
उनी अमेरिकाका पहिलो उपराष्ट्रपति हुन् जो सन् १९७३ मा गर्भपतनलाई मान्यता दिने सर्वोच्च अदालतको निर्णयको विरोधमा हरेक वर्ष हुने यो र्यालीमा सहभागी भए ।
यो वार्षीक प्रदर्शनलाई राष्ट्रपति ट्रम्पको समर्थन मिलेको छ ।
उपराष्ट्रपति पेन्सले र्यालीमा अब नयाँ राष्ट्रपति आएपछि संसदको दुबै सदनमा गर्भपतनको धारा उल्टिन लागेको बताएका छन् ।
उक्त र्याली राजधानीमा राष्ट्रपति ट्रम्पको विरोधमा महिलाहरुको अधिकारका लागि भएको त्यो विशाल र्यालीको एक हप्ताभन्दा पनि कम समयमा भइरहेको छ जसमा गर्भपतनको अधिकारका थुप्रै समर्थकले पनि भाग लिएका थिए ।
योभन्दा पहिले पूर्व राष्ट्रपति रेगन र जर्ज डब्ल्यू बुसले पनि र्यालीको सम्बोधन गरेका थिए तर त्यतिबेला यी दुइले आफ्नो भाषण फोनमार्फत दिएका थिए ।
अमेरिकामा गर्भपतन विरोधी कार्यकर्ताहरुको मनोबल नोभेम्बरमा भएको चुनावपछि बढ्यो । यसलाई ह्वाइट हाउसका साथै संसदका दुबै सदनले पनि समर्थन जनाएको छ ।
डोनल्ड ट्रम्पले पहिले गर्भपतनको अधिकारका लागि समर्थन गरेका थिए तर चुनाव अभियानको क्रममा उनले यसबारे आफ्नो बिचार परिवर्तन भएको बताएका छन् ।
एक अन्तर्वार्तामा ट्रम्पले गर्भपतन गराउने महिलालाई ‘कुनै प्रकारको सजायँ’ दिने पक्षमा भएको बताएका थिए तर केही घण्टाभित्रै उनले आफ्नो कुरा परिवर्तन गरे ।
रिपब्लिकन राष्ट्रपतिले गर्भपतन विरोधीहरु समक्ष एउटा यस्त न्यायाधिस नियुक्त गर्ने जो गर्भपतन विरोधी हुनेछन् भनी बाचा गरेका छन् ।






