सिन्धुपाल्चोक, १९ जेठ । सिन्धुपाल्चोकको यमुनाडाँडामा माउन्टेन एयरको हेलिकोप्टर दुर्घटनामा परेको छ। हेलिकोप्टरमा सवार एक विदेशीसहित चारको मृत्यु भएको छ। कोदारी राजमार्गको बलेफी बजारबाट पारिको यमुनाडाँडा ८ स्थित शिला पर्बत जंगलमा हेलिकोप्टर दुर्घटना भएको खबर स्थानीयले दिएका छन्। डाँडामा रहेको बिजुलीको तारमा ठोक्किएर हेलिकोप्टर जंगलमा खसेर आगो लागिरहेको खबर स्थानीयले प्रहरीलाई दिएका थिए।
स्थानीय प्रकाश जिसीले हेलिकोप्टर खसेर आगो लागिरहेको जानकारी स्थानीय संवाददातालाई दिएका छन्। ठूलो आवाजसहित हेलिकोप्टर जंगलमा खसेको थियो। स्थानीयले खबर गरेपछि सेनासहितको सुरक्षाकर्मीको टोली घट्नास्थलमा पुगेको र उद्धारको काम सुरु भएको सिन्धुपाल्चोक जिल्लाका डिएसपी दीपक खरेलले बताए। हेलिकोप्टरबाट चार जनाको शव निकालिएको प्रारम्भिक जानकारी आएको छ। माउन्टेन एयरको 9एनएफएजेपी हेलिकोप्टर दुर्घटनामा परेको हो।
माउन्टेन एयरको हेलिकोप्टर दुर्घटना हुँदा क्याप्टेन र एक विदेशी महिलासहित चारजनाले ज्यान गुमाएका छन्। भूकम्प प्रभावित स्थानमा मेडिसिन ढुवानी गर्न चार्टर गरेर लगिएको हेलिकोप्टरमा सवार एकजना महिला डच चिकित्सक, नेपाली चिकित्सक सन्दिप महत, हरीबहादुर भन्ने कर्मचारी र क्याप्टेन सुदेक श्रेष्ठ रहेका छन्।
बिजुलीको तारमा ठोक्किएर हेलिकोप्टर दुर्घटना






