अर्थमन्त्रीको निर्देशनमा पिए रमेशले भूकम्पपीडितको जस्तापाता बेच्न लागेको खुलासा

gadi

काठमाडौं, १६ जेठ । भूकम्पपीडितका लागि आएको जस्तापाता अर्थमन्त्री रामशरण महतको निर्देशनमा बेच्न लागेको खुलासा भएको छ ।

नेपाल इन्भेष्टमेष्ट बैंकले भूकम्प पीडितका लागि दिएको ३ सय बण्डल जस्तापातामध्ये १४० बण्डल जस्तापाता बेच्नका काठमाडौं ल्याउँदै गरिएको अवस्थामा गाउँले नुवाकोटको छहरेमा नियन्त्रणमा लिएको दैनिक नेपाल डट कममा खबर छ

शुक्रबार नुवाकोटको प्रभावित क्षेत्र कविलासमा अर्थमन्त्री महतका स्वकीय सचिव रमेश महतको नेतृत्वमा ३ सय बण्डल जस्तापाता लगिएको थियो । कविलासमा १६० वण्डल जस्तापाता बाँडेर बाँकी १४० वण्डल जस्तापाता बेच्नका लागि काठमाडौं ल्याउन लागिएको स्वकीय सचिव रमेशका ड्राइभरले खुलासा गरेका हुन् ।

‘साहुले काठमाडौंको कोटेश्वरको पसलमा लगेर छोडिदिनु भन्नुभएको थियो, उहाँकै निर्देशनअनुसार हामी कविलासबाट फर्कियौं ।’ गाउँलेले जस्तापाता बोकेको ट्रक नियन्त्रणमा लिएपछि ड्राइभरले भने ।

पीडितको जस्तापाता बेच्न लागेको थाहा पाएपछि नुवाकोटको छहरेमा ट्रक नियन्त्रणमा लिएर अर्थमन्त्रीलाई पिएलाई कारवाहीको माग गर्दै प्रदर्शन गरिरहेका छन् । जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार छहरेमा पीडितले यातायात समेत अवरुद्ध पारेका छन् ।

‘भूकम्प पीडितको राहतमा रजाई गर्नेलाई कारबाही नगरेसम्म हामी सडक खोल्दैनौं,’ नुवाकोटको छहरेका भूकम्पपीडित स्थानीय श्रीकृष्ण खतिवडा भने । उनका अनुसार छहरेमा हजारौं जनता सडकमा उत्रिएर चक्का जाम गर्दै
चर्काे नाराबाजी गरिरहेका छन् ।

गाउँलेले ट्रकलाई नियन्त्रणमा लिदा स्र्कटिङमा रहेका अर्थमन्त्रीका स्वकीय रमेश भागेको उनको दाबी छ । ‘पीडितको राहत बेच्नेलाई पाए भने जुत्ताको माला लगाएर बजार घुमाउँछौं ।’ अर्का पीडित प्रकाश विकेले भने ।

यता नुवाकोट प्रशासनले उक्त जस्तापाता जिल्ला विकास समितिको जिम्मा लगाएर बाँड्ने तयारी गरेको छ । ‘बेच्न काठमाडौं लगेको भन्ने कुरामा हामी छानविन गरिरहेका छौं, तत्काललाई उक्त जस्तापाता जिविसबाट बाँड्ने योजना बनाएका छौं’ नुवाकोटका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले भने ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिसपी अरुण पौडेलले यातायात बन्द नभएको बताए । ‘केही बेर अवरुद्ध भएको हो, अहिले खुलिसकेको छ,’ उनले भने । प्रशासनले जिविसबाट जस्तापाता बाँड्ने निर्णय गरेपनि स्थानीयहरुले जस्तापाता फर्काउनेलाई कारवाहीको माग गरेका छन् ।

नेकपा एमालेका केन्द्रीय सदस्य खिमलाल भट्टराईले भूकम्प पीडितको राहत फर्काएर बेच्न लैजानु जघन्य अपराध भएको बताए । ‘प्रधानमन्त्री सशील कोइराला राहतमा हिनामिना भए जेल हाल्छु भन्ने, अर्थमन्त्रीले पिए लगाएर राहतमा हिनामिना गर्ने, यो त जघन्य अपराध हो । घटनाको सत्यतथ्य छानविन गरी दोषीलाई कडा कारवाही हुनुपर्छ ।’ उनले भने । यता अर्थमन्त्रीका पिएलाई बुझ्न खोज्दा सम्पर्क हुन सकेन् ।