दोश्रो विश्व युद्ध लडेका सैनिकको १०० औं जन्मदिनमा कोरोना राहत च्यारिटी :

लण्डन, १५ एप्रिल (जीएनएन) —
दोश्रो विश्व युद्ध लडेका एक भूतपूर्व सैनिकले आफ्नो १०० औं जन्मदिनमा कोरोना राहतका लागि घरकै आँगनमा हिडेर ४ मिलियन पाउण्ड सहयोग संकलन गरिसकेका छन्। एक हजार पाउण्डबाट शुरु भएको उनको लक्ष्य अब ५ मिलियन पाउण्ड च्यारिटी संकलन गर्ने रहेको छ।

९९ वर्षे क्याप्टेन टम मूरले आफ्नो १०० औं जन्मदिन अघि घरकै बगैंचामा १०० ल्याप्स को लक्ष्य मनाए। उनले आफ्नो १०० औं जन्मदिनमा उक्त ल्याप्स पूरा गर्ने लक्ष्य राखेका छन्।
मूर हरेक दिन आफ्नो बगैचामा बैसाखीको सहयोगले १० ल्याप्स हिड्छन्।

युद्ध भेटरान मूर अप्रिल ३० तारिख १०० वर्ष पुग्दैछन्। मूरको अनलाइन च्यारिटी पेजमा अहिलेसम्म लगभग चालिस लाख पाउण्ड (झन्डै ५८ करोड रुपियाँ) भन्दा बढी सहयोग संकलन भइसकेको छ। उनले संकलित भएको सबै रकम बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) लाई प्रदान गर्नेछन्।

५ मिलियन पाउण्ड संकलन गर्ने लक्ष्य

योर्कसायरमा बस्दै आएका क्याप्टेन टम मूरले सुरुमा एक हजार पाउण्डको लक्ष्य राखेका थिए। उनले अप्रिल ८ तारिखमा शुरु गरेको च्यारिटीमा २४ घण्टा नबित्दै ७० हजार पाउण्ड बढी संकलन भयो। २४ घण्टामै संकलित रकमले उनमा हौसला थप्यो र उनले त्यसपछि एकै पटक च्यारिटी सहयोगको लक्ष्य एक मिलियन पाउण्ड राखे।

एक मिलियनको लक्ष्य नाघेर मंगलबार बिहान नै २ मिलियन पाउण्डभन्दा बढी रकम च्यारिटीमा जम्मा भईसकेपछि क्याप्टेन मूरले यसको लक्ष्य अहिले ५ मिलियन पाउण्ड बनाएका छन्।

“हाम्रा बहादुर नर्सहरू र डाक्टरहरू कोरोना महामारीको यस अवस्थामा फ्रन्टलाइन छन् … यस पटक हाम्रो सेना डाक्टर र नर्सको वर्दीमा छन् र उनीहरूले अद्भुत काम गरिरहेका छन्,” मूरले भने। “यो लगभग अविश्वसनीय हो। तर जब तपाइँ यो कसको लागि हो भनेर सोच्नुहुन्छ, र तिनीहरू सबै यति साहसी छन् … मलाई लाग्छ कि तिनीहरू यसको हरेक पैसाका लागि योग्य छन्।”
सन् १९४० मा प्रशिक्षणको लागि छानिएपछि मूरले दोश्रो विश्व युद्धमा बेलायतको सेवा गरे। दोश्रो विश्व युद्धताका उनले भारत र सुमात्रामा पोस्टिंग पूरा गरे । त्यसपछि उनी बोभिंगटनको एक बख्तरबन्द लडाई वाहन स्कूलमा प्रशिक्षकको रूपमा काम गर्न फर्के।

एनएचएसको प्रशंसा

मुरकी पत्नी धेरै वर्षदेखि बिरामी थिइन्, २००६ मा उनको मृत्यु भयो। तर मूरको भाँचिएको हिप र छालाको क्यान्सरको उपचार निरन्तर भइरहेको छ , जसले गर्दा उनको एनएचएससँग नजिकको सम्बन्ध छ।

क्याप्टेन नूर आफ्नो १०० बर्षदिनमा एनएचएसलाई सहयोग गर्न पाएकोमा दंग छन्।

क्याप्टेन टम मूरबारे बीबीसी ब्रेकफास्टको भिडियो हेर्न यो लिंकमा जानुहोस्: