दिनेश जोशी ,
राजनितीमा जालझेल हुन्छ । तर बिकसित मुलुकको राजनितीलाई एक पटक नियाल्ने हो भने राजनिती इमानमा टिकेको हुन्छ । एक बोतल वाइनले न्यु साउथवेल्सका प्रीमियरले राजनिती त्याग्नु परेको पछिल्लो उदाहरण त्यसका लागि काफी छ अस्ट्रेलियामा ।एक पटक उदाउछन र सँगसँगै अस्ताउछन पनि । सरकार चलिरहँदा आफ्नै लेबर पार्टीले अबिश्वास गरेपछि तत्कालिन प्रधानमन्त्री जुलिया गिर्लाड यतिखेर प्रोफेसरको जागिरमा फर्किसकेकी छिन । अनि लिबरलका कडक नेता टोनी एबट पनि आफ्नै दलभित्र अल्पमतमा परेपछि माल्कम टर्नबुललाई प्रधानमन्त्री छाड्न बाध्य भए । यी हुन त अस्ट्रेलियाको समसमायीक राजनिती । जहाँ एक पटक चुक्यो की राजनितीवाट सुक्यो भन्ने पक्का छ ।
तर फर्किउ फेरी हाम्रै जन्मथलो तिर जहाँ एक पटक पस्यो की जन्मैभर धस्यो भन्ने राजनिती चरितार्थ छ । हुन पनि ७० बर्षसम्म युवा र त्यसपछि वयस्क नेता हुने प्रचलनले हाम्रो राजनितीमा इमान होइन बेइमानले प्रश्रय पाइरहेको छ ।
नेपालको बिकास किन भएन । अहिले आएर मधेसको राजनितीले कसलाई पिरोल्यो । यसमा धेरैका धेरै तर्क होलान तर म भन्छु,मुलुकको चिन्ता गर्दागर्दै आफ्नै कर्तब्य बिर्सनेहरुको लामले देश अहिलेको परिस्थीतीमा आइपुगेको हो । राजनितीमा बिकृती अहिलेको सबैभन्दा ठुलो कमजोरी हो ।
कहिले राम्रो, कहिले नराम्रो , कहिले साँंचो कहिले झुठो त कहिले मिठास अनि कहिले हिस्रक ,कहिले कमाउने अनि कहिले गुमाउने । राजनितीमा बेइमानीको यो पराकाष्ठाले यतिखेर मुलुक अक्रान्त छ । हिजो आजको स्थीती सोच्ने कसलाई फुर्सत भयो, एउटा दक्षिणको मित्रलाई सधै रिझाँंउदा उत्तर तिर पनि हात फैलाउने बाटो राख्नुपथ्र्यो की पर्दैनथ्यो ।
त्यती राख्न नसक्दा अहिले को मित्र र को शत्रु भन्ने भ्रममै रुमल्लीएको छ नेपाली राजनिती । नेपाली राजनितीले सुशासनको बिउ रोप्न नसक्दाको परिणाम हो यो । सोझालाई कानुन र बाठालाई जानुन भन्ने गलत न्यायको सिद्धान्तको पक्षपोषण गरियो । फलस्वरुप परपीडाहरु यसरी पोखिन थालेकी मुलुकभित्र राजनिती गर्नेहरु बिदेशीको सहारामा नाच्न थाले ।
मधेश आन्दोलन गर्दैगर्दा मागहरु दिल्लीवाट घोषणा हुन थाले । यसले हाम्रा कमि कमजोरीहरु छताछुल्ल हुन थाले । एक महिनाको स्टक राख्न नसक्ने हाम्रो सरकार र नितीका कारण जनताहरु स्वाभिमानको नाममा एक छाक खान बाध्य छन ।
यसको जिम्मेबार को त रु नेता वा निती भन्दा पनि खराब राजनिती भन्दा फरक नपर्ला । मुलुकले ढिलै भएपनि संविधान पाएको छ । तर संविधान आयो भन्दैमा रौसीनुभन्दा कर्तब्यलाई आत्मसाथ गर्ने हो की । मधेश आक्रान्त छ, चाडपर्वको मुखमा मुलुकमा हाहाकार छ , दशगजामा तेल र मेल होइन, ढुंगा र मुंग्राको जगजगी छ । नेताहरु इमान हैन बेइमानको खेलमै ब्यस्त छन । कुर्सीकै खेलमा घम्साघम्सी छ ,रस्साकस्सी छ ।
समस्यालाई समस्यामै मात्र सिमित राखेर समाधानको उपायमा नलाग्ने हो अनि नचेत्ने हो भने इमानका राजनितीमा तीमी यती बढि बेइमान ठहरिने छौ , तिमीलाई इतिहाँस र समयको कालखण्डले सधै धिक्कार्ने छ ।
लेखक जन सम्पर्क समीती अष्ट्रेलियाका संस्थापक हुन,






