मधेसवादी दलको माग मुलुक असफल पार्नेमात्र : नेता नेपाल

madav-Nepal
इटहरी- नेकपा (एमाले)का नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले मधेसवादी मोर्चाको माग केवल देशलाई असफल पार्ने र दुनियाँलाई हँसाएर नेपालीलाई कष्टमा डुबाउनेबाहेक अरु केही नभएको दाबी गरेका छन् ।

नेता नेपालले इटहरीमा शुक्रबार सञ्चारकर्मीहरुसँगको भेटमा त्यस्तो धारणा राख्नुहुँदै तराईवासीलाई उनीहरुले भनेभन्दा धेरै अधिकार संविधानले प्रत्याभूत गरिसकेको विषयलाई अझै मधेसवादी दलहरुले यथार्थ जनतासम्म पुर्‍याउन नचाहेको पनि स्पष्ट पारे ।

नेता नेपालले मधेसमा लामो समयदेखि बस्दै आएका नेपाली जनतालाई समृद्ध बनाउने विषयमा सत्तामा बस्दा चाहिँ उनीहरुले किन योजना अघि सार्दैनन् त ? भनेर प्रश्न गरे ।

नेता नेपालले कसैप्रति सङ्केत नगरी कसैको उक्साहटमा गरिएको मधेस आन्दोलन र मधेसवासीको अधिकारका लागि भनिएको यो आन्दोलन सीमित व्यक्तिको स्वार्थसँग गाँसिएको विषयमा मधेसवासी आमनेपाली जनतालाई बुझाउन जरुरी रहेको पनि औँल्याए ।