काठमाडौं- भारतीय नाकाबन्दी र तराईको आन्दोलनले पढ्न पाउने अधिकार खोसेको भन्दै लाखौं विद्यार्थीले शुक्रबार बिहान चक्रपथ घेरेका छन्।
विद्यार्थीहरुले विभिन्न नारा लेखिएका प्लेकार्डसहित बिहान ११ बजेदेखि आधा घण्टा चक्रपथमा मानव साङ्लो बनाएर विरोध प्रदर्शन गरेका छन्। ‘बाँच्न र पढ्न देऊ’ भन्ने मुख्य नाराका साथ कलंकी, सातदोबाटो, कोटेश्वर, चाबहिल, महाराजगञ्ज, बालाजु, स्वयम्भुलगायतका स्थानमा विद्यार्थीहरुको मानव साङ्लो तयार भएको छ।
लगातारको आन्दोलन र नाकाबन्दीले बालअधिकार हनन् भएको प्लेकार्डसहित विद्यार्थीहरु सडकमा उत्रिएका छन्।
मानव साङ्लोमा निजी तथा आवासीय विद्यालय सङ्गठन(प्याब्सन), राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन (एनप्याब्सान), उच्चमाध्यमिक विद्यालय सङ्घ नेपाल(हिसान), संयुक्त विद्यार्थी सङ्गठन, शिक्षक महासङ्घ, अभिभावक सङ्घ नेपाल, राष्ट्रिय अभिभावक सङ्घलगायतका सङ्घसंस्था अपिन सहभागी थिए ।






