नाकाबन्दीले भारतमै मोदीलाई अर्काे झट्का

काठमाडौं, २१ असोज । नेपालमा नाकाबन्दी गरिरहेको भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई भारतमै अर्काे झट्का लागेको छ ।
भारतको पश्चिम बंगालस्थित सिलिगुडी नगरपालिकापछि स्थानीय ग्राम पञ्चायत चुनावमा वामपन्थीहरुले जीत हात पारेपछि मोदीको भारतीय जनता पार्टीले धक्का खाएको हो । साथै पश्चिम बंगालको सत्तारुढ दल तृणमूल कांग्रेसले पनि धक्का खाएको छ ।
पञ्चायत चुनावमा वामपन्थीले बहुमत ल्याएपछि पश्चिम बंगालमा मोदीको पार्टी भाजपाले धेरै ठाउँबाट पराजित हुनुपरेको छ ।
कुल २२ ग्राम पञ्चायतमध्ये १० वटामा वाममोर्चाले एक्लै जीत हात पारेको छ भने ८ वटामा मिलिजिुली परिणाम आएको छ । ममता बेनर्जीको त्रिणमूल कांग्रेसले ४ वटा ग्राम पञ्चायतमा मात्रै जितेको छ ।
सिलगुडी नगरपालिका र महकुमा परिषदको चुनावमा समेत वामपन्थीले बहुमत हासिल गरेका छन् । खोरीबारीजस्तो तृणमूलको प्रभाव रहेको क्षेत्रमा समेत वाममोर्चाले जितेको छ ।
पश्चिम बंगालमा अधिकांश नेपाली मुलका भारतीयहरु बस्छन् । विगतमा नेपाली भाषीहरुले मोदीको भाजपालाई भोट हाल्ने गरेपनि यसपालि नक्सलवाडीलगायतका स्थानमा रहेका नेपालीभाषी मतदाताले वाममोर्चालाई सहयोग गरेका छन् ।
भारतको सिलिगुडी एवं नक्सलवाडीलगायतका स्थानमा नेपाली मूलका भारतीयहरुको उपस्थिति रहेको छ । भारतीय प्रधानमन्त्री मोदीले नेपालमाथि नाकाबन्दी लगाएकाले नेपालीभाषीहरुले भाजपालाई असहयोग गरेको विश्लेषण गरिएको छ ।
पश्चिम बंगालमा बसोबास गर्ने नेपाली भाषीको नाता सम्बन्ध र बिहाबारी झापा र मोरङका नेपालीहरुसँग हुने भएकाले मोदीको नाकाबन्दीले उनीहरु वाममोर्चातर्फ आकर्षित भएको बताइन्छ । यसअघि मोदीलाई हिन्दू धर्मलाई प्राथमिकता दिएको आरोप लागेको थियो । (एजेन्सीको सहयोगमा)