तक्दीर अधिकारी
सिड्नी । अष्ट्रेलियामा बस्दै आएका एलेक्स कार्कीले डिसेम्बरमा हुने स्थानीय निकायको चुनावमा उम्मेद्वारी दिएसँगै यहाँका मन्त्री, सांसद, स्थानीय सरकार तथा नेपाली अगुवाहरुसँग अन्तरक्रिया गरेका छन् ।
डिसेम्बर ४ मा हुन गइरहेको चुनावमा अष्ट्रेलियाको मुख्य दल मध्येको लेवर पार्टीको रुपमा न्यू साउथ वेल्स राज्यमा उम्मेद्वारी दिने घोषणा गरेका उनले करिब ७० जना नेपाली संघसंस्था, तथा यहाँका स्थानीय तहदेखि संघीय सांसदहरुसँग शनिवार अन्तरक्रिया गरेका हुन् ।
१३ नोवेम्बर शनीवार क्यासल हिल आरएसएल क्लबमा आयोजित चुनावी अन्तरक्रिर्या कार्यक्रममा एनआरएनए ओसियाना क्षेत्रीय संयोजक होम पाण्डे, एनआरएनए अष्ट्रेलियाका अध्यक्ष नन्द गुरुङ, उपाध्यक्ष तथा न्यू साउथ वेल्स संयोजक देव गुरुङ, न्यू साउथ वेल्सको सहसंयोजक सुकीर्ती भट्ट, जनसम्पर्क समिति र , ओएनएफका प्रतिनिधिहरु तथा न्यू साउथ वेल्सका छाँया मन्त्री स्टिभ क्यान्थो, संघीय सांसद टिन एस, सिनेटर पिटर प्रिनरोस तथा स्थानीय जनप्रतिनिधिहरुको उपस्थितीमा अन्तरक्रिया गरिएको कार्कीले जानकारी दिए ।
अष्ट्रेलियाको सबै क्षेत्रमा नेपालीहरुको प्रतिनिधित्व रहेको कुरा बुझाउने, आफ्नो उम्मेद्वारीको जानकारी दिने उद्देश्यको साथमा सो कार्यक्रम गरेको उनको भनाई छ । हालसम्म अष्ट्रेलियामा नेपालीहरुको प्रतिनिधित्व आतिथ्यता र शिक्षा क्षेत्रमा मात्र रहेको अवस्थामा राजनीतिमा पनि नेपालीहरुको पहुँच रहेको छ भन्ने पनि देखाउन पनि सो कार्यक्रम प्रभावकारी भएको र करिब ७० जना जति सहभागि रहेको उनले बताए ।
कार्यक्रममा बोल्ने नेपाली वक्ताहरुले अष्ट्रेलियामा नेपालीहरुका समस्या र ती समस्या समाधानमा सरकारले देखाउनुपर्ने तदारुकताको बारेमा प्रकाश पारेका थिए । त्यस्तै मन्त्री तथा सांसदहरुको उपस्थितीले यहाँ रहेका नेपालीहरुको निम्ती सहयोग गर्न तयार रहेको भन्दै नेपालीहरु मिहेनती रहेको भन्दै प्रशंसा गरेका थिए ।
५ वटा स्थानीय तहहरुमा काम गरेको अनुभव भएका ३७ वर्षे एलेक्स पेशाले इन्जिनियर हुन् । आफूले चुनाव जितेको अवस्थामा आफ्नो सीप प्रयोग गरी यहाँको ट्राफिक समस्या, जलवायु परिवर्तन लगायतका मुद्धामा विशेष काम गर्ने बताए । नेपालीहरुले पाउनुपर्ने सुविधाहरुको विषयमा आफूले काम गर्ने उनको प्रतिवद्धता छ ।

नेपालको दोलखामा जन्मिएका एलेक्सले सिड्नीको द हिल सायर काउन्सिलको काउन्सिलर पदमा लड्न टिकट पाएका हुन् । एलेक्स सन् २००३ मा अध्ययनका लागि अष्ट्रेलिया आएका थिए । उनले सिड्नीको युनिभर्सिटी अफ न्यू साउथ वेल्समा अध्ययनकै समयमा सन् २००७ मा लेवर दलको सदस्यता लिए । विद्यार्थी जीवनमा सिड्नी सिटी काउन्सिलमा समेत काम गरिसकेका एलेक्स हाल राज्य सरकारको यातायात विभागमा कार्यरत छन् ।
अष्ट्रेलियामा विभिन्न कामधन्दामा संघर्ष गर्दै यहाँको राजनीतिमा समेत पुग्न सफल भएपछि यतिबेला एलेक्सको चर्चा बढेको छ । एलेक्सले चुनावमा लड्ने तयारी भएको जानकारी दिदै भोट अपिल गर्ने अभियान शुरू गरेको जानकारी दिए ।
तस्वीरहरु















