सिड्नी । अष्ट्रेलिया सरकारले विदेश जानका लागि आवश्यक पर्ने भ्याक्सिन पासपोर्ट जारी गर्न शुरू गरेको छ । कोभिड महामारी शुरु भएसँगै अन्तराष्ट्रिय नाकाहरु बन्द गरेको सरकारले अब नाका खोल्ने तयारी गरेको अवस्थामा भ्याक्सिन पासपोर्ट जारी गर्न थालेको हो ।
विदेश जानका लागि खोप लगाएको सोही प्रमाणपत्र देखाएपछि सहज रुपमा प्रवेश पाउन सकिनेछ ।
नोभेम्बर महिनाको सुरूदेखि खोपको पूर्ण लगाएका नागरिक र पिआर होल्डरलाई विदेश यात्राको अनुमति दिने निर्णय गरेसँगै खोप प्रमाणपत्र दिन थालिएको छ ।
माइ गभ एकाउन्टमा हाल उल्लेख भएकै जस्तो देखि अन्तराष्ट्रिय रुपमै स्क्यान गर्न सकिने प्रमाणपत्र मंगलबारबाट वितरण शुरू भएको छ ।
खोपको पूर्ण मात्रा लगाएका मानिसहरुले माइगभ एकाउन्ट लगिन गरेर प्रमाणपत्र लिन सक्ने भएका छन् ।
खोप प्रमाणपत्रमा पासपोर्ट बाहकको नाम, जन्म मिति, पासपोर्ट नम्बर र खोप लगाएको मिति समावेश हुनेछ। जुन कोडलाई संसारभरकिा अधिकांश देशको सीमा सुरक्षाकर्मीले बार कोड स्क्यान गरी जाँच गर्नसक्नेछन् ।
अन्तर्राष्ट्रिय रूपमै स्क्यान गर्न सकिने यस्तो क्युआर कोड सहितको प्रमाणपत्र र पासपोर्ट जोडिएपछि विश्वभरि जहाँ गए पनि यसलाई प्रमाणित गर्न सकिने व्यवस्था समेत गरिएको छ।
प्रमाणपत्र लिन चाहनेहरुले माइगभको होमपेजमा गएर “Proof of COVID-19 vaccination” मा क्लिक गरी आवश्यक विवरणहरु भर्नुपर्नेछ । विवरण पूर्ण रुपमा भरिएसँग उक्त प्रमाणपत्र डाउनलोड गर्न सकिनेछ ।
सरकारले अन्तराष्ट्रिय नाका खोलेसँगै मापदण्ड पूरा गरेका मानिसहरु देश प्रवेश गर्न र छोड्न पाउने भएका छन् । तस्वीर स्रोतः स्काइन्यूज






