काठमाडौँ । सर्वोच्च अदालतले प्रधानमन्त्रीमा शेर बहादुर देउवालाई नियुक्त गर्न परमादेश दिदै संसद विघटन बदर गरिदिएपछि काठमाडौँमा पद्रर्शन शुरू भएको छ । सबै फैसला मान्न नसकिने भन्दै आन्दोलन शुरू भएको हो ।
यता नेकपा एमालेका नेता महेश बस्नेतले सार्वोच्च अदालतको पछिल्लो आदेशले मुलुकमा निर्दलीय व्यवस्थाको बिजारोपण गरेको प्रतिक्रिया दिएका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न दिएको आदेश कार्यान्वयन नहुने भन्दै नेता बस्नेतले मुलुक राजनीतिक द्वन्द्वमा फसेको बताएका छन् ।
‘तुरुन्त अहिले नै माइतीघर मण्डलामा जम्मा भएर सर्वोच्च अदालतको असंवैधानिक फैसलाको विरुद्ध बिरोध जनाउ’ अदालतको आदेशविरुद्ध प्रदर्शन गर्न आह्वान गर्दै नेता बस्नेतले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आजको दिन नेपालको इतिहासमा सर्बोच्च अदालत चुकेको दिन। निर्दलीय शासन व्यवस्थाको पुनः बिजारोपण भएको दिन।
माइतीघरमा भेला भएर यतिबेला उनकै उपस्थितीमा प्रदर्शन भइरहेको छ । सर्वाेच्चको फैसला कार्यान्वयन गर्न असम्भव रहेको उनले बताए ।
उनले थप लेखेका छन्– व्यवस्थापिका र कार्यपालिकाको अधिकार न्यायपालिकाको नाउमा सेटिङवाला केही न्यायमूर्तीका नामधारीहरुले हातमा लिएको क्षण। अब देश राजनैतिक द्वन्दमा प्रवेश गरेको छ। यो परमादेश कार्वान्वयन गर्न असम्भव छ ।
काठमाडौँ उपत्यकाका ठाँउठाँउमा प्रदर्शन भएको छ । त्यस्तै उपत्यका बाहिर पनि विभिन्न ठाँउमा आन्दोलन भइरहेको बताइएको छ ।






