जिल्लाबासीको सेवामा एकजुट भयो झापाली समाज अस्ट्रेलिया

सिड्नी । झापाली समाज अस्ट्रेलियाले आफ्नो गृहजिल्लामा परेको आपतविपद तथा महामारी नियन्त्रणमा एकजुट भएर अघि बढेका छन् ।

कोरोना भाइरसका कारण समस्यामा परेका झापालीको पीडामा समाजले आर्थिक सहयोग तथा स्वास्थ्य सामग्रीदेखि खाद्यान्न वितरण गरेको छ । समाजका अध्यक्ष उमेश पोखरेलको विशेष पहल र नेतृत्वमा अस्ट्रेलियाबाट गृहजिल्लामा सहयोग पठाइएको हो ।

समाजले भद्रपुरस्थित मेची अस्पताललाई २ लाख रुपैयाँ बराबरको अक्सिजन सिलिन्डर, नर्सका लागि पिपिइ सेट, मास्कलगायत सामग्री दिएको अध्यक्ष पोखरेले बताए ।

त्यस्तै, समाजले झापाको मेचीनगर नगरपालिकामा रहेका विपन्नवर्ग तथा रोजगार गुमाएका दैनिक ज्यालादारी गर्ने मजदुरलाई खाद्यान्न प्रदान गर्न २ लाख रुपैयाँ सहयोग गरेको अध्यक्ष पोखरेलले बताए ।

समाजले भिजन फर मोटिभेसन अस्ट्रेलियाको सहकार्यमा २ लाख रुपैयाँको खाद्यान्न वितरणमा गरिएको छ ।

समाजकी महिला संयोजक सोनु पुडासैनीको उपस्थितिमा मेचीनगरका १०० परिवारलाई खाद्यन्न वितरण गरिएको थियो । उनका अनुसार प्रत्येक विपन्न परिवालाई ३० केजी चामल, २ केजी गहुँको पिठो, १ लिटर तेल, एक केजी चना र १ केजी नुन वितरण गरिएको थियो ।

त्यस्तै, समाजले अन्तर्राष्ट्रिय झापाली समाज (अझास) लाई जिल्लामा स्वास्थ्य सामग्री हस्तान्तरणका लागि ३ लाख रुपैयाँ सहयोग उपलब्ध गराएको अध्यक्ष पोखरेलले जानकारी दिए ।

अझासले झापाका १५ वटै स्थानीय तहमा आठ लाख मूल्यबराबरको पिपिइ, भिटिएम किट, एन्टिजेन्ट किट, ग्लोब्स, एन ९५ मास्क र सर्जिकल माक्स, फेस सिल्ड, सेनिटाइजर तथा कोरोना उपचारमा प्रयोग हुने औषधि हस्तान्तरण गरिएको थियो ।

त्यस्तै, एकका लागि एक अभियानले स्थापना गरेको अक्सिजन बैंकका लागि एक सयवटा सिलिन्डरबापतको १५ लाख रुपैयाँ प्रदान गरेको थियो । यी दुवै कार्यक्रमका लागि समाजले ३ लाख रुपैयाँ प्रदान गरेको हो ।

यसैबीच, रोटरी क्लब अफ भद्रपुरको सहकार्यमा समाजले निर्माण गर्दै गरेको सार्वजनिक शौचालयको काम अन्तिम चरणमा पुगेको छ । १५ लाख रुपैयाँको लागतमा भद्रपुरमा सो शौचालय निर्माण भइरहेको छ ।

गृहजिल्लामा परेको समस्याको समाधान तथा राहत वितरणमा झापाली समाज लामो समयदेखि सक्रिय हुँदै आएको छ ।