सिड्नी । अस्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहाललाई सरकारले फिर्ता बोलाएको छ । हिजो सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राजदूत दाहाललाई फिर्ता बोलाउने निर्णय गरेको थियो । उनको अझै दुई वर्ष कार्यकाल बाँकी नै थियो ।
विवादरहित कार्यकाल सञ्चालन गरिरहेका राजदूत दाहाललाई राजनीतिक पूर्वाग्रहका आधारमा फिर्ता बोलाइएको बताइएको छ । माओवादी कोटामा राजदूत भएका दाहालसँगै ओली सरकारले गण्डकी प्रदेशका प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिलाकुमार पन्तलाई हटाएर एमाले निकटलाई नियुक्ति दिएको थियो ।
राजदूत दाहालभन्दा अघि लक्की शेर्पा आर्थिक मामिलासम्बन्धी विवादमा मुछिएपछि नोभेम्बर २०१९ मा सरकारले दाहाललाई अस्ट्रेलियाको राजदूत नियुक्त गरेको थियो ।
सरकारले चीनका लागि राजदूत लीलामणि पोखरेललाई पनि फिर्ता बोलाएको थियो । साथै, मन्त्रिपरिषद् बैठकले ओमानका लागि नेपाली राजदूत शर्मिला ढकाल पराजुली र जापानी नियोगकी राजदूत प्रतिभा राणालाई निरन्तरता दिने निर्णय गरेको छ ।






