सिड्नी । गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाले मेलवर्नमा कार्यालय स्थापना भएको छ। उक्त कार्यालयको अस्ट्रेलियाका सङ्घीय सांसद पिटर खलिल र एनआरएनए संरक्षक शेष घलेले गत शनिबार संयुक्त रूपमा उद्घाटन गरे ।
उद्घाटन कार्यक्रममा सांसद खलिलले एनआरएनए अस्ट्रेलियाले प्रवासमा नेपाली संस्कृति जोगाउन खेलेको भूमिकाको प्रशंसा गरे। उनले भने, नेपाली आप्रवासी समुदायको भूमिका अन्य समुदायको तुलनामा निकै अगाडि छ। म यी कुरा इमानदारीपूर्वक भन्न सक्छु ।
एनआरएनएका प्रमुख संरक्षक तथा पूर्व अध्यक्ष शेष घलेले गैरआवासीय नेपाली संघको यो अभियानले एनआरएनएको संस्थागत विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले कारोना महामारीपश्चात् विशेष गरेर अस्ट्रेलियन सरकारको जनसङ्ख्या तथा अन्तर्राष्ट्रिय शिक्षा नीति लिएर चिन्तित रहेको बताए।
‘मैले यो नौ महिनाका लागि ट्रायलका रूपमा स्थापना गरिएको हो भन्ने सुनेँ। तर मलाई आशा छ यो स्थायी कार्यालय बन्नेछ। हामीले इतिहास चाहेर निर्माण गर्न सक्दैनौं तर सही नियतका साथ कार्यक्रमहरू गर्दै जाँदा एक दिन तिनीहरू इतिहास बन्दछन्,’ संरक्षक घलेले भने।
एनआरएनए ओसेनियाका क्षेत्रीय संयोजक होम पाण्डेले १५ वर्षअगाडि एनआरएनए अस्ट्रेलियाको कार्यक्रम न्यू साउथवेल्सको राज्यको एसफिल्डस्थित एउटा पार्कमा विना कुर्सी संचालन भएको स्मरण गर्दै अहिले आफ्नै कार्यालय हुने गर्वको कुरा भएकाले यो सपनालाई साकार पार्न उल्लेख्य भूमिका खेल्ने सबै व्यक्तिलाई धन्यवाद दिए।
भिक्टोरिया राज्यका अवैतनिक महावाणिज्यदूत चन्द्र योञ्जनले एनआरएनए अस्ट्रेलियाको आफ्नै कार्यालय हुनुपर्ने सपना धेरै अगाडि देखिएको भए पनि अहिले आएर यो सपना साकार गर्वको कुरा रहेको उल्लेख गर्दै यो कार्यालय संचालन हुनु नयाँ सुरुवात हुने विश्वास व्यक्त गरे।
एनआरएनए अस्ट्रेलियाका अध्यक्ष केशव कँडेलले पूर्व निर्धारित कार्यक्रमअनुसार नै मेलवर्नमा कार्यालय स्थापना गरिएको बताए । उनले मेलवर्नको कार्यालय स्थापनासँगै गैरआवासीय नेपाली संघ अस्ट्रेलियाको यात्रा यतिखेर नयाँ मोडमा पुगेको बताए।
‘अब हाम्रो आफ्नै कार्यालय छ। यो ठेगाना भएपछि यहाँका सरकारी निकायहरूले हामीलाई हेर्ने दृष्टिकोणमा पनि परिवर्तन भइ विश्वसनियता वृद्धि हुन्छ भन्ने हाम्रो अपेक्षा छ,’ उनले भने।
स्वयंसेवकहरूको सहयोगमार्फत् कार्यालय हरेक दिन निश्चित समय खुल्ने र केही समयपछि कर्मचारी राखेर कार्यालय सञ्चालन अघि बढाउने योजना रहेको तथा सञ्चालनको व्ययभार आधा एनसिसी र आधा एससिसीले व्यहोर्ने अध्यक्ष कँडेलले बताए।
कार्यक्रममा नेपाली समुदायको अगुवाहरूका साथै अस्ट्रेलियाका विभिन्न शहरहरूबाट आएका नेपालीहरूको समेत उपस्थिति थियो।






