डा. राजभण्डारीले लगाए नेपालमा कोरोनाविरुद्धको पहिलो खोप

{"caption":"u0915u093eu0920u092eu093eu0921u094cu0902u0915u094b u091fu0947u0915u0941u0938u094du0925u093fu0924 u0938u0939u093fu0926 u0936u0941u0915u094du0930u0930u093eu091c u091fu094du0930u092au093fu0915u0932 u0924u0925u093e u0938u0930u0941u0935u093e u0930u094bu0917 u0905u0938u094du092au0924u093eu0932u0915u093e u0928u093fu0930u094du0926u0947u0936u0915 u0921u093e. u0938u093eu0917u0930 u0930u093eu091cu092du0923u094du0921u093eu0930u0940 u092cu0941u0927u092cu093eu0930 u092cu093fu0939u093eu0928 u0928u0947u092au093eu0932u092eu0948 u092au0939u093fu0932u094bu092au091fu0915 u0915u093eu0947u0930u094bu0928u093e u0916u094bu092a u0932u0917u093eu0909u0901u0926u0948 u0964 u0924u0938u094du092cu093fu0930 : u0905u0902u0917u0926 u0922u0915u093eu0932 n","photographer":"","alt_text":""}

काठमाडौं । नेपालमा पहिलो संक्रमित देखिएको एक बर्षपछि कोभिड १९ विरुद्धको खोप लगाउन शुरू भएको छ । भारतले अनुदान स्वरुप दिएको ‘कोभिशिल्ड’ नाम गरेको पहिलो खोप काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले लगाएका छन् ।

त्यस्तै अस्पतालका प्रमुख कन्सल्टेन्ट तथा कोभिड चिकित्सक डा. अनुप बाँस्तोलाले पनि कोरोनाविरुद्धको खोप लगाए

खोप लगाएपछि बोल्दै डा राजभण्डारीले ढुक्क भएर खोप लगाउन आग्रह गरे ।

‘यो पनि इन्फ्लुएन्जा खोप जस्तै हो । डराउनुपर्ने कुरा छैन । त्यसैले खोप लगाउनु पूर्व पनि र लगाएपछि खुशी नै छु।’ उनले भने, ‘स्वास्थ्यकर्मी लगायत सबैले उत्साहित भएर खोप लगाउनुहोस् भन्न चाहन्छु ।’

पहिले चरणमा फोहरमैला व्यवस्थापनमा खटिने फोहर सङ्कलक तथा चालक, एम्बुलेन्स तथा शववाहन चालक र सहचालक, प्रत्यक्ष उपचारको सेवा दिने वा खोप व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मी, खोप केन्द्र खटिने सुरक्षाकर्मी तथा स्वयंसेवक, शव व्यवस्थापनमा खटिने व्यक्ति, स्वास्थ्य स्वयंसेविका, अन्तरराष्ट्रिय प्रवेशविन्दुमा कार्यरत स्वास्थ्यकर्मी र अन्य कर्मचारी, वृद्धाश्रमका व्यक्ति तथा हेरचाहमा खटिने कर्मचारी एवं कारागारका कैदी र सुरक्षाकर्मीलाई खोप दिइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयश त्रिपाठीले जानकारी दिए ।

भारत सरकारको अनुदानमा माघ ८ गते १० लाख मात्रा खोप नेपाल ल्याइएको हो । ‘कोभिशिल्ड’ खोप अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेका नामक औषधि उत्पादक कम्पनीले संयुक्त रुपमा विकास गरेका हुन् । भारतको सेरम इस्सिच्युटले खोप उत्पादन गरेको हो ।

नेपालमा खोप अभियानको औपचारिक शुभारम्भ प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका हुन् । भर्चुअल रुपमा भएको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले कोरोनाविरुद्धको लडाइँ नयाँ चरणमा प्रवेश गरेको बताए ।

बुधबार बालुवाटारमा आयोजित कोभिड – १९ विरुद्धको खोप अभियान शुभारम्भ कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो बताए ।

सरकारले पहिलो चरणको खोप अभियानका लागि देशभरका ९५ अस्पतालमा खोप केन्द्र सञ्चालन गर्ने भएको छ ।

यो खोप भारतमा ७० प्रतिशत प्रभावकारी देखिएको छ । नेपाल सरकारले कोभिशिल्ड खोपको आपतकालीन प्रयोगका लागि माघ २ गते अनुमति दिएको थियो ।

नेपाल सरकारले खोप लगाउँदा कुनै भवितव्य भएमा त्यसको जिम्मेवार आफू नहुने यसअघि नै बताइसकेको छ । त्यसैले खोप लगाउने व्यक्तिले भवितव्य परी केही भएमा स्वयं जिम्मेवार हुने सर्तनामा गर्नुपर्ने छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाविरुद्धको खोप लगाएपछि कुनै गम्भीर स्वास्थ्य समस्या भए, अंगभंग भए या मृत्यु भएमा खोप दिने निकाय वा संस्थाले क्षतिपूर्ति दिनुपर्ने छैन ।