लियोनलाई ३-० ले हराउँदै बार्यन मुनिख च्याम्पियन्स लिगको फाईनलमा ।

लिस्बन,

लिस्बनको जोसे अल्भलाद स्टेडियममा भएको युईएफए च्याम्पियन्स लिगको सेमिफाईनलमा फ्रेन्च क्लब लियोनलाई ३-० ले हराउँदै जर्मन क्लब बार्यन मुनिख सात वर्ष पछि फाईनल प्रबेश गरेको छ । बार्यनलाई फाइनलमा पुर्याउन सर्ज जिनाब्रे नायक साबित भए । उनले खेलको १८ औ मिनेटमा उत्कृष्ट गोल गर्दै १ -० को अग्रता दिलाएका थिए । त्यस्तै खेलको ३३ औ मिनेटमा रोबर्ट लेबन्डस्कीको पासमा जिनाब्रे ब्यक्तिगत दोस्रो गोल गरेका थिए ।

रोवर्ट लेबन्डस्कीले खेलको ८८ औ मिनेटमा जोसौ किमिचिको कर्नर प्रहारलाई उत्कृष्ट हेडिङ्ग गर्दै गोलमा परीणत गरेका थिए । यो गोल सँगै लेबन्डस्की च्याम्पियन्स लिगमा एकै सिजन धेरै गोल गर्ने खेलाडी क्रिष्टियानो रोनाल्डोको (१७) रेकर्ड तोड्नलाई दुई गोलले पछि रहेका छन् । रोबर्टले यो सिजन च्यापियन्स लिगमा १५ गोल गरेका छन् ।

खेलमा लियोनले उत्कृष्ट सुरुवात गर्दै बायर्नलाई दबाबमा राखेपनि अवसर सदुपयोग गर्न सकेन । कप्तान मेम्फिस डिपाए र तोको एकाम्बीले पेनाल्टी क्षेत्रभित्र पाएको अवसरलाई गोलमा परिणत गर्न नसक्दा बायर्नले खेलमा पकड जमाउने अवसर पायो । बायर्नले पहिलो अवसरमा नै सर्ज जिनाब्रेको गोलमा अग्रता लिएपछि दबाब कायम गर्यो ।

यस जितसँगै बायर्नले अब उपाधि भिडन्तका लागि आइतबार फाइनलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग प्रतिस्पर्धा गर्नेछ । पीएसजीले मंगलबारको खेलमा आरबी लाइप्जिगमाथि ३-० को जित दर्ता गरेको थियो ।