तक्दीर अधिकारी, मेलबर्न
अष्ट्रेलियाको भिक्टोरिया राज्यमा सरकारले घोषणा गरेको चौथो चरणको लकडाउनका कारण यहाँ स्थित नेपालीहरु प्रभावित बनेका छन् । यस् राज्यमा अनुमानित ५० हजार नेपालीहरु रहेको मानिन्छ ।
अत्यन्तै कडा लकडाउन जारी गरिएको कारण घरबाट बाहिर निस्कन पूर्ण प्रतिबन्ध छ । जसको कारण नेपालीहरु आफुलाइ दैनिक उपभोग गर्ने सामग्रीहरु समेत खरीद गर्न प्रभावित भएका छन् ।
हाल मेलवर्न शहरमा ४४ नेपालीमा कोरोना पुष्टि भएको छ भने संक्रमितको सम्पर्कमा रहेको कारण ५४ जना भन्दा बढी आइसोलेसनमा रहेका छन् । संक्रमित मध्ये १९ जना महिला र बाँकी पुरुष हुन ।
यस परिस्थितीलाइ ध्यानमा राखी गैरआवासीय नेपाली संघ अष्ट्रेलिया र भिक्टोरिया राज्य परिषदले नेपालीहरुलाइ राहतको कार्यक्रम अघि सारेका छन् ।
एनआरएनए अष्ट्रेलियाका अध्यक्ष केशव कंडेलले समस्यामा परेका नेपालीहरुलाइ राहत वितरणका कार्यक्रमको पहल शुरु गरेको जानकारी दिए ।
संक्रमित भएकाहरुलाइ पहिलो प्राथमिकता दिइने र अन्य आपतमा परेका विद्यार्थीहरुलाइ पनि खानाको व्यवस्था गर्ने उनको भनाइ छ । कोरोना पोजेटिभ भएकाहरुलाइ सेनिटाइजर लगायतका सुरक्षा सामग्री पनि वितरणको तयारीमा रहेको उनले बताए ।
गैरआवासीय नेपाली संघ अष्ट्रेलियाका उपाध्यक्ष तथा भिक्टोरिया राज्य परिषदका संयोजक प्रेम कंडेलले नेपालीहरुलाइ तीन समुहमा विभाजन गरि राहत प्याकेज सुरु गर्न लागेको बताए । ‘संक्रमित भएका, संक्रमितको निकट सम्पर्कमा आइ आइसोलेसनमा बसेका र रोजगारी गुमाएका विद्यार्थी गरी तीन तहमा विभाजन गरेका छौ’ उनले भने ‘कोरोना पोजेटिभ भएकाहरुलाइ क्वारेन्टीनमा राख्न सहयोग गर्ने , उनीहरुको सम्पर्कमा आएकाहरुलाइ आइसोलेट गर्ने, र आपतमा परेका विद्यार्थीहरुलाइ राहत दिने सोँचेका छौ’ ।
उनले अष्ट्रेलिया आइ समस्यामा परेका नेपालीहरुलाइ सरकारसँग सहयोगको पहल गर्ने तथा गैरआवासीय नेपाली संघ, नेप्लीज एसोसियसन भिक्टोरिया, अष्ट्रेलिया नेपाल पब्लिक लिङ्क, नेप्लीज कन्सुलेट, अष्ट्रेलिया एजुकेसन कन्सलटेन्ट एलाएन्सको सहयोगमा राहत अभियान सुरु गरिएको जानकारी दिए ।
‘शुरुमा २५ हजार डलर बराबरका कार्यक्रम बनाएका छौ’ उनले भने ‘सहयोग लिन चाहनेले एनआरएनको वेभसाइटमा राखीएको गुगल फर्म भर्न सक्नुहुन्छ, हाम्रो हटलाइनमा सम्पर्क गर्दा पनि हुन्छ’
चौथो चरणकोे लकडाउनको कारण अत्यावश्यक किनमेल गर्नको निम्ती समस्या भएको कारण अनलाइन सिस्टमको व्यवस्था गर्ने सोँच बनाइएको जानकारी दिए ।
महामारीको सुरुवात देखी नै विद्यार्थीहरुलाइ सहयोग दिइरहेको र एक जनाले दुइ पटक सम्म राहत पाउने सक्ने उनले बताए । सुरुमा सामान्य ४० डलर बराबरको प्याकेज रहेको र दोस्रो चरणमा कोरोना पोजेटिभ भएकाहरुलाइ १२० डलर बराबरको राहत दिइनेछ ।
आइसोलनमा लापरवाही गरे कारवाही
यसैबिच अष्ट्रेलिया सरकारले आइसोलेसनमा बस्नै व्यक्तिहरुले लापरवाही गरेको खण्डमा कारवाही गर्ने भएको छ ।
पहिलो पटक लापरवाही गरेको भेटिएमा ४ हजार ९ सय ५७ डलर जरिवाना तिर्न पर्ने भएको छ । दोस्रो पटक पनि लापरवाही गरेको पाइएमा २० हजार डलर सम्म जरिवाना तिराउने नियम बनाइएको कारण सतर्क रहेर पूर्ण नियम पालना गरी आइसोलेटेड हुन नेपालीहरुलाइ आग्रह गरिएको छ ।
सबैभन्दा बढी विद्यार्थीलाइ चिन्ता
गत बर्ष कम्युनिटि सर्भिस अध्ययनकोे शिलशिलामा मेलवर्न आइपुगेकी उषा भट्टराई र उनका साथीहरु मार्च १ बाट रोजगार विहिन छन् ।
विचमा लकडाउन खुकुलो भएको समयमा केही काम गर्नको निम्ती प्रयास गरे । तर सफल भएनन । हालसम्म आफुसँग भएको नगद तथा सार्थीहरु सँग सरसापट गरेर उनीहरुले काम चलाइरहेका छन् ।
समस्या बढ्दै जाँदा अब ती विद्यार्थीहरुले गैरवासीय नेपाली संघ सँग राहत माग्ने बताए । भिक्टोरिया सरकारले पनि विद्यार्थीहरुको निम्ती राहत प्रदान गरेको थियो । तर केही विद्यार्थीहरुले पाउन सके, तर कसैले पाउन सकेनन् ।
उषा र उनका साथीहरु जस्तै अध्ययनको शिलशिलामा अष्ट्रेलिया आएका अधिकांश विद्यार्थीको समस्या यस्तै छ । आफुसँग भएको रकम सकिएपछि अब के गर्ने भन्ने चिन्ता उनीहरुलाइ छ ।
यस प्रकारको विषम परिस्थितीमा गैरआवसीय नेपाली संघ र अन्य संघसंस्थाहरुले सहयोग अभियान चलाइरहेका छन् ।
सहयोग लिन फर्म भर्नको निम्ती यहाँ क्लिक गर्नुहोस ।






