तक्दीर अधिकारी
सिड्नी । गैर आवासीय नेपाली संघ एनआरएनए अष्ट्रेलियाको अष्ट्रेलियाको अध्यक्षमा निर्वाचित भएका नन्द गुरुङले एनआरएनएलाई संस्थागत विकास गर्दै अघि बढ्ने बताएका छन् ।
लण्डन नेपाल न्यूजसँग भिडियो अन्तर्वार्तामा बोल्दै उनले भने, ‘सबैलाई मिलाएर लैजाने मेरो उद्धेश्य हो, कसैलाई पाखा कसैलाई काखा गरिदैन, तर उहाँहरु (उपविजेता)को पनि रियाक्सन कस्तो आउँछ, त्यसमा पनि भर पर्छ । म मिलाएर लैजाने विषयमा सकारात्मक छु । मलाई सबैले सहयोग गर्नुहुन्छ भन्ने विश्वास छ, सबैसँग मिलेर काम गर्ने योजना छ ।’
उनले आफूले चुनावको क्रममा लिएका सबै एजेन्डाहरु पूरा गर्ने गरी अघि बढ्ने बताए ।
‘मेरो काम कसरी प्रभावकारी बनाउने भन्नेमा म अघि बढ्नेछु, म र मेरो टिमले पूरा गर्न सकिने मात्र एजेन्डा उठाएका थियौं’, उनले भने, ‘कोभिड सकियो भने यी एजेन्डाहरु पूरा गर्न समस्या हुने छैन । यसमा कुनै पनि अपठ्यारो पर्लाजस्तो मलाई लागेको छैन ।’
महामारी बढ्दै गयो भने एनआरएनएको पहिलो योजना महामारी नियन्त्रण नै रहने उनले बताए । यसको लागि कार्यदल बनाएर अघि बढ्ने र सबैका समस्याहरु समाधान गर्ने अभियान चाल्ने उनले बताए ।
यो एनआरएनए भनेको सबै नेपालीहरुको साझा संस्था रहेको कारण यसलाई संस्थागत विकास गरी अघि बढ्ने, राजनीतिबाट टाढा राख्ने र नेपाल–अष्ट्रेलिया सम्बन्धलाई अझै बलियो बनाउने अभियान थाल्ने उनको भनाई छ ।
त्यसैगरी अष्ट्रेलियामा रहेको नेपाली पत्रकारहरुको संस्था एन्जाको दिगो विकासमा सहयोग गर्ने समेत उनले प्रतिबद्धता जनाए ।
यहाँ रहेका युवा तथा विद्यार्थीहरुलाई एनआरएनए अभियानमा ल्याउने र उनीहरुलाई परेका समस्या समाधानमा चासो लिएर अघि बढ्ने उनको भनाई छ।
हेरौँ उनीसँग लिएको अन्तर्वार्ता
https://www.facebook.com/londonnepalnews/videos/366830258180956






