जाजरकोट । जिल्लाको जुनीचाँदे गाउँपालिका २ का वडाध्यक्ष रामबहादुर नेपालीले वडामा आएका सेवाग्राहीलाई निर्घात कुटपिट गरेका छन् ।
मजकोटका १८ वर्षीय सर्पे दमाईलाई उनले डोरीले बाँधेर कुटपिट गरेका हुन् ।
दाजु रमेश दमाईका छोराछोरीको पोषण भत्ता बुझ्न गएका सर्पेले वडा कार्यालय मदिरा सेवन गरेर होहल्ला गरेको भन्दै वडाध्यक्ष नेपालीले उनलाई बाँधेर निर्घात कुटपिट गरेका हुन् ।
पोषण भत्ता माग्दा वडा सचिवले बालबालिका लिएर आएपछि मात्र दिने भनेपछि सर्पे र वडासचिवबीच विवाद भएको थियो । सोही विवादको निहुँमा वडाध्यक्ष नेपालीले सर्पेलाई स्थानीय गब्बले तिरुवाको घरको दलानमा डोरीले बाँधेर निर्घात कुटपिट गरी ३ घण्टासम्म बन्दक बनाएका थिए ।
पोषण भत्ता पाउन ढिलाइ भएपछि वडा सचिवसँग वादविवाद गरिरहेको अवस्थामा वडाअध्यक्षले सर्पेलाई लतार्दै वडा कार्यालय नजिकै रहेको गब्बले घरमा लिई डोरीले बाँधेर कुटपिट गरी बन्दक बनाएको स्थानीय जय नाथले बताए । वडा अध्यक्षले सर्पेलाई गत साउन १५ गते बाँधेर कुटपिट गरेका हुन् ।
उक्त भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
प्रत्यक्षदर्शीका अनुसार पीडितले मदिरा खाएर होहल्ला पनि गरेका थिए । मदिर खाएर हल्ला गरेपनि मुख्य विषय भने रकम अनियमितताको आरोप थियो । ‘यहाँ त पहिलेदेखि नै वडाध्यक्षको दादागिरी चल्छ, अनियमितता आरोप लगाएपछि कुटपिट गर्नु सामान्य भयो,’ प्रत्यक्षदर्शी स्थानीयले भने, ‘सम्झाइ(बुझाइ गर्न सकिन्थ्यो, भनेको नमाने थुन्न सकिन्थ्यो तर वडाध्यक्ष अक्रोशमा आएर निर्घात कुटपिट गरे ।’ वडाध्यक्षकै डरका कारण आफूहरुले केही बोल्न नसकेको स्थानीयहरु बताउँछन् ।
यस्तै सेवाग्राही कुटेको आरोपमा वडाध्यक्ष नेपाली पक्राउ परेका छन् । जाजरकोट प्रहरीले उनलाई सोधपुछका लागि भन्दै सदमुरकाम ल्याइएको जनाएको छ । स्थानीयलाई कुटेको भिडियोका आधारमा वडाध्यक्षलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।
जाजरकोटका प्रहरी निरीक्षक खुमानन्द पाण्डेका अनुसार बुधबार साँझ पञ्चाला प्रहरी चौकीको टोलीले उनलाई घरबाटै नियन्त्रणमा लिएको हो ।






