शिब भण्डारी
लन्डन । तमुधि यूकेले प्रत्येक वर्ष आयोजना गर्दै आएको गोर्खाकप अनिश्चितकालका लागि सरेको छ । तमुधि यूकेले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण मे २४ तारिख आइतबार अल्डरसटको क्विन्स एभिन्युमा सञ्चालन हुने गोर्खा कपको १८ औं संस्करण अनिश्चित कालका लागि सरेको जानकारी दिइयो ।
तमुधि यूकेका अध्यक्ष नन्दजंग गुरुङले पे्रस विज्ञप्ति जारी गर्दै भने, बेलायतको नेपाली समुदायमाँझ आयोजना हुने वर्षकै ठूलो इभेन्ट गोर्खा कप कोरोना भाइरसको महामारीका कारण बाध्य भएर अनिश्चित कालका लागि सार्नुपर्ने निर्णय गरेका छौं । यो निर्णयले खेलप्रेमी दाजुभाइ तथा दिदीबहिनी र व्यवसायीमा पर्न गएको असुविधाप्रति तमुधि दुःखी छ ।
तमुधि यूकेका मिडिया सेक्रेटरी रोहित गुरुङले निर्णयपछि तयार पारिएको पे्रस विज्ञप्ति वाचन गरेका थिए । कोरोना भाइरसको संक्रमणले तमुधि यूकेले गोर्खाकप अनिश्चित कालका लागि सार्नुपरेको निर्णय विज्ञप्तिमा उल्लेख छ ।






