तक्दीर अधिकारी
सिड्नी । नेपालमा कान्तिपुर टेलिभिजनबाट हरेक सोमबार र मंगलबार प्रसारण भइरहेको रियालिटी शो कमेडी च्याम्पियनका उत्कृष्ट तीन विजेतासहित हाँस्य कलाकार मनोज गजुरेल सिड्नी आउने भएका छन् । सिड्नीको वाइट पार्कमा आगामी अप्रिल ११ शनिबारका दिन आयोजना हुने कार्यक्रममा कमेडी च्याम्पियनका उत्कृष्ट तीन विजेता, कार्यक्रम निर्देशक विशाल भण्डारी र निर्णायक मनोज गजुरेल सिड्नी आउन लागेका हुन् ।
नयाँ वर्षको अवसर पारेर कमेडी च्याम्पियनले विश्व भ्रमणको कार्यक्रम राखेको छ । त्यही सिलसिलामा उनीहरु सिड्नी आउन लागेको शनिबार पत्रकार सम्मेलन गरेर जानकारी गराइयो । कमेडी च्याम्पियनसहितको कार्यक्रममा सिड्नीका स्थानीय कलाकारको पनि साँस्कृतिक प्रस्तुति रहने छ ।
कमेडी च्याम्पियन कलाकारहरुबाट नेपाल भ्रमण वर्ष २०२० को प्रचार प्रसारको लागि वातावरण मिलाउन आयोजकले पहल गर्नुपर्ने एनआरएनए भिजिट नेपाल अभियानका ओशिनिया संयोजक दिनेश पोखरेलले पत्रकार सम्मेलनमा आग्रह गरे । कार्यक्रमका दिन नेपाली खानेकुराहरूको स्टल राखिने र शैक्षिक परामर्शदाताहरूबाट नेपाली विद्यार्थीहरूका लागि जानकारी दिने प्रस्तुति पनि समेटिने छ ।







