विमानस्थलमा यात्रुको चाप

काठमाडौं, २४ फागुन । चार दिनपछि उडान–अवतरण सुरु भएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा यात्रुहरुको चाप बढेको छ । गत बुधबार दुर्घटनाग्रस्त टर्किस एयरलाइन्सको विमान रनवेबाट हटाएर पार्किङस्थलमा लगिएपछि हिजो साँझदेखि उडान अवतरण सुरु भएको थियो । विदेश जान नपाएर चारदिन देखि अलपत्र परेका यात्रुहरुको चाप अत्यधिक भएकोले हाल चौबिसै घण्टा उडान अवतरणको व्यवस्था मिलाइएको छ । यात्रुहरुको चाप सामान्य नभएसम्म तीन दिनसम्म
चौविसै घण्टा विमानस्थल सन्चालन गरिने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । नेपालमा बन्ने भनिएका अन्तराष्ट्रिय विमानस्थल कागजमा सिमित भैरहेकोबेला धादिङमा पनि अन्तराष्ट्रिय विमानस्थल बनाउन माग गरिएको छ । धादिङका बासिन्दाले सल्यानटारमा अन्तराष्ट्रिय विमानस्थल बनाउन माग गरेका हुन् । नेपाली कांग्रेस धादिङका सभापति रामनाथ अधिकारीले जिल्लाको उत्तरी क्षेत्र सल्यानटार गाविसमा १३ किलोमिटर लम्बाइ र तीन किलोमिटर चौडाइमा फैलिएको जग्गा अन्तराष्ट्रिय विमानस्थलका लागि उपयुक्त हुने बताउनुभयो । यसबारे सञ्चारमन्त्रीलाई अवगत गराइसकिएको उहाँले जानकारी दिनुभयो ।
सल्यानटारनजिकै बूढीगण्डकी परियोजना सञ्चालन हुन लागिरहेको छ । अन्तर्राष्ट्रिय उडान हुँदा पर्यटकलाई बूढीगण्डकी ताल अवलोकन गर्न उपयुक्त हुनाका साथै अन्नपूर्ण, मनास्लु, लाङटाङ, गौरीशङकर, गणेश, पाविल र पाल्दोर हिमालको मनोरम दृश्यसहित सल्यानटार अवतरण गर्न सकिने उत्तमस्थलका रुपमा सल्यानटारलाई लिइन्छ । सरकारले बाराको निजगढ, कास्कीको पोखरा, रुपन्देहीको भैरहवालगायत स्थानमा अन्तर्राष्ट्रियस्तरको विमानस्थल बनाउने प्रक्रिया जारी राखेको छ ।