पृथ्वीनारायण शाहको शालिकमा क–कसले चढाए फूल ?

काठमाडौं, २७ पुस – आईतबार बिहानको दश बज्दा नबज्दै सिंहदरवारको मुलगेटमा रहेको पृथ्वीनारायण शाहको शालिक अगाडी मानिसहरुको चहल–पहल बढिसकेको थियो । हिजोमात्रै पक्राउ परेर छुटेका लक्ष्मणसिंह खड्काले अरुभन्दा अलि चाँडै पुगेर सालिकमा माला र खादा लगाईदिए ।
सरकारले पृथ्वी जयन्तीका दिन बिदा दिने विगतको परम्परालाई खारेज गरेपछि सरकारी स्तरबाट मनाउन छाडिएको सो जयन्ती नागरिक तवरबाट मनार्ईंदै थियो । यस्तोमा सिंहदरवारको मुल गेट अगाडी जम्मा भएकाहरु चिच्याउँदै थिए ‘पृथ्वी जयन्तीमा सार्वजनिक विदा दिएर राष्ट्रिय एकता दिवस मनाउनुपर्छ ।’ उनीहरुको चिच्याहट नजिकैको सिंहदरवारले सुन्यो कि सुनेन तर बटुवाहरु भने एकछिन रोकिएर सुन्थे ।
पृथ्वीनारायण शाहको २९३ औं जन्म जयन्ती मनाउने कार्यक्रममा सहभागीहरु शालिकको फेदमा फूल चढाएर माल्यार्पण गर्दै थिए त्यतिकैमा डा.रमेश ढुंगेल झुल्कीए । उनले केहिबेर कार्यक्रम उद्घोषण गरे अनि राष्ट्रिय एकताका प्रतिकका रुपमा पृथ्वीनारायण शाहको ब्याख्या गरे ।
रमेश ढुंगेलले बोलि सक्दा नसक्दै मान्छेहरु पातलिन थालीसकेका थिए,यस्तोमा बाटो खालि गर्नुपर्यो भन्दै प्रहरी अगाडी बढे । एकाएक प्रहरी अधिकृतको सेटमा भिआईपी कलसाईन कोड बज्यो । मान्छे हटाउने कामलाई थाति राख्दै प्रहरी टोलीले भद्रकाली तिर आँखा दौडाए, जहाँ पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द, पूर्व अर्थमन्त्री प्रकशचन्द्र लोहनी र पूर्व आईजिपी ध्रुवबहादुर प्रधानको नेतृत्वको जुलुश आईरहेको थियो । पूर्व भिआईपिहरुले पनि पृथ्वीनारायण शाहको शालिकमा माल्यापर्ण गरे र सरकारले विदा नदिएकोमा तिक्तता पोख्दै केहीबेर रोकिए । त्यतिबेला सम्म सिंहदरबार मुलगेट अगाडीको सडक सवारी जामले अस्तव्यस्त बन्दै थियो । पूर्व प्रधानमन्त्रीसँगै आएको टोलि त्यहाँबाट अगाडी बढ्दा नबढ्दै कलाकार सन्तोष पन्त आईपुगे ।

शालिकमा फुल चढाए सँगै कलाकार पन्तले प्रश्न गरे ‘माघेसक्रान्तीमा सरकारी विदा दिने अनि पृथ्वी जयन्तीमा विदा नदिने यो कस्तो सरकार ?’ सन्तोष पन्त त्यहाँबाट अगाडी बढ्दा नबढ्दै अर्को जुलुशले पृथ्वीनारायण शाहको शालिकलाई घेरिसकेको थियो ।