काठमाडौं- तराई मधेस लोकतान्त्रिक पार्टीका उपाध्यक्ष ह्रिदयश त्रिपाठीले मधेस आन्दोलनका क्रममा सरकारले आन्दोलनकारीहरुको हत्या गरेको हुनाले सरकारविरुद्ध अन्तर्राष्ट्रिय अदालतमा मुद्दा दायर गरिने बताएका छन् ।
आन्दोलन दबाउने नाममा सरकारले आन्दोलनकारीहरुको टाउको र छातीमा गोली हानी हत्या गरेको हुनाले सरकारविरुद्ध अन्तर्राष्ट्रिय अदालतमा मुद्दा दायर गरिने उनले बताए । ‘सरकारले ३८ जनालाई टाउको र छातीमा ताकी-ताकी गोली हानेर हत्या गरेको छ,’ उनले भने, ‘नेपालको अदालतमा सरकारविरुद्धको मुद्दा दर्ता गर्दैन होला, त्यसैले हामी अब अन्तर्राष्ट्रिय अदालत जाँदैछौ ।’
उनले वर्तमान सरकार वार्ता र सम्वादमार्फत निकास खोज्ने पक्षमा नहरेकाले आफूहरुसामू आन्दोलनको विकल्प नरहेको प्रष्ट पारे । सरकारले अझै पनि विभिन्न बाहनामा मधेसी जनतालाई नियन्त्रणमा लिने, झुटो आरोपमा मुद्दा हाल्ने काम गरिरहेको उनको भनार्इ छ ।
आफूहरु जुनसुकै बेला पनि वार्ता र सम्वादमार्फत निकास खोज्न तयार रहँदै आएको स्मरण गर्दै उने भने, ‘सरकारले वार्ताको आव्हान गर्दैमा हुँदैन, आव्हान गर्दैमा हुने भए हामी पनि हाम्रा माग पुरा गर भनेर आव्हान गर्नेथियौं नि ।’






