नाइजेरियाको राष्ट्रपति निर्वाचनमा बुहारी विजयीनजिक

नाइजेरिया, १७ चैत्र  । नाइजेरियामा भएको राष्ट्रपति निर्वाचनमा वर्तमान राष्ट्रपति गूडलक जोनाथनलाई पछि पार्दै अर्का उम्मेदवार मुहाम्मादु बुहारीले अग्रता लिएका छन् । मतगणनाको आंशिक परिणाममा पूर्वसैनिक शासक बुहारीलाई झिनो अग्रता मिलेको हो । जोनाथनले भन्दा बुहारीको पार्टीले २० लाख मत बढी पाएका छन् ।
शनिबार र आइतबारसम्पन्न निर्वाचन जोनाथन र बुहारीबीच अत्यन्तै प्रतिष्पर्धात्मक मानिएको थियो । तर, धेरै मतदाता भएका केही निर्वाचन क्षेत्रको मत गणना हुन बाँकी रहेकाले अन्तिम परिणाममा फेरबदल हुनसक्ने पनि अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।
इस्लामिक अतिवादी संगठन बोको हरामले राज्यसत्तालाई चुनौती दिइरहेका बेला मच्चाइएको हिंसाका कारण निर्वाचनमा गर्नै पनि ६ हप्ता पछि सार्नुपरेको थियो । अत्यन्तै कडा सुरक्षा व्यवस्थाबीच गराइएको निर्वाचनका क्रममा केही स्थानमा हिंसात्मक गतिविधि गरिएका थिए ।
सन् १९९९ देखि नाइजेरियाको राजनीतिमा एकलौटी प्रभाव रहेको राष्ट्रपति जोनाथनको पिपुल्स डेमोक्रेटिक पार्टीलाई यसपटक बुहारीको अल प्रोग्रेसिभ कंग्रेसले पछि पारेको हो । देशका ३६ राज्य र राजधानी अबुजाको क्षेत्रबाट सांसद र सीनेटका प्रतिनिधिको एकसाथ निर्वाचन गरिएको हो । अफ्रिकाकै ठूलो अर्थतन्त्र मानिने नाइजेरियामा सन् १९९९ मा वर्षौ लामो सैनिक शासनको अन्त्य गरिएको थियो ।