काठमाडौं, १७ चैत्र । १० दिनदेखि आमरण अनशनमा रहेका प्रा.डा. गोविन्द केसीका माग पूरा गर्न सरकारले आलटाल गरेको भन्दै नेपाल चिकित्सक संघले बुधबारदेखि देशभरका स्वास्थ्य संस्था ठप्प पार्ने घोषणा गरेको छ । संघले मंगलबार शिक्षण अस्पताल परिसरमा सभा आयोजना गरी बुधबारदेखि देशभरका सरकारी तथा निजी स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सम्पूर्ण सेवा बन्द गर्ने घोषणा गरेको हो ।
संघका अध्यक्ष अन्जनीकुमार झाले स्वास्थ्य र शिक्षा क्षेत्रमा भइरहेको माफियाकरणको विरुद्धमा आवाज उठाउँदै डा. केसी लामो समयदेखि अनशनमा बसेपनि सरकारले माग पूरा गर्न आलटाल गरेकाले आफूहरुले देशभरका स्वास्थ्य संस्था ठप्प पार्ने निर्णय गरेको बताए । झाले ४८ घन्टाभित्र माग पूरा नभए आकस्मिक सेवापनि बन्द गर्ने चेतावनी दिए ।
सरकारी वार्ता टोली र डा. केसीका प्रतिनिधिबीच दिनभर वार्ता भएपनि सहमति हुन नसकेपछि संघले थप आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । यसैबीच, डा. केसीको स्वास्थ्यस्थिति थप कमजोर बन्दै गएको छ । केसीको रक्तचाप निकै घटेको, टाउको दुख्ने, रिँगटा लाग्नेलगायतका समस्या देखिएको डा. दिव्या सिंह शाहले जानकारी दिइन् ।
डा. केसीले उठाएका मागमध्ये शिक्षामन्त्री चित्रलेखा यादवलगायत त्रिवि पदाधिकारीको राजीनामा र बर्खास्ती गर्नुपर्ने मागको सम्बन्धमा कुरा मिल्न नसकेको जनाइएको छ ।
देशभरका स्वास्थ्य संस्था बुधबारदेखि ठप्प






