दोस्रोबाट तेस्रो दर्जामा झर्दा के फरक पर्छ अस्ट्रेलियामा नेपाली विद्यार्थीलाई

तक्दीर अधिकारी /अनु लामा
सिड्नी । अस्ट्रेलिया सरकारले नेपाली विद्यार्थीका लागि थप कडाइ गरेको छ । डिपार्टमेन्ट अफ होम अफेयर्सले एसेसमेन्ट लेवल–३ मा राखेपछि नेपाली विद्यार्थीलाई कडाइ गर्ने संकेत देखाएको हो । उच्च अध्ययन गर्न अस्ट्रेलिया आउने विद्यार्थीलाई एसेसमेन्ट लेभल १ देखि ५ अंकसम्म वर्गीकरण गरिएको हुन्छ । यसअघि नेपाल एसेसमेन्ट–२ मा थियो । डिपार्टमेन्टले नेपालसँगै भारत र पाकिस्तानलाई पनि लेबल–३ मा झारेको छ ।

एमजी एसोसियटका कार्यकारी अधिकृत महेन्द्र घिमिरेका अनुसार विद्यार्थीले कुन देशको पासपोर्ट लिएको छ र कुन तहको विषय अध्ययन गरिरहेको छ भन्ने आधारमा अस्ट्रेलियन सरकारले एसेसमेन्ट लेभल तय गरिएको हुन्छ । सो वर्गीकरण अनुसार एसेसमेन्ट लेभल–१ लाई सबैभन्दा राम्रो मानिन्छ । यो लेबलमा कम जोखिमयुक्त र एसेसमेन्ट लेभल–५ लाई बढी खतरापूर्ण मानिन्छ । जति बढी एसेसमेन्ट लेभल हुन्छ विद्यार्थीले अस्ट्रेलिया अध्ययनका लागि भिसा आवेदन दिँदा त्यही अनुपातमा बढी कागजपत्र देखाउनुपर्छ ।

एसेसमेन्ट लेबलबारे कार्यकारी अधिकृत घिमिरेले भने, ‘नेपाली विद्यार्थीको कार्य गतिविधि हेरेर लेबल–२ मा राखिएको थियो, अहिले पुनरावलोकन गरिएको छ । यो पुनरावलोकनले नेपाललगायत भारत र पाकिस्तानलाई लेबल–३ राखेको छ । लेबल–२ मा कलेजको सिओई निकालिसकेपछि सजिलै भिसा प्राप्त हुन्थ्यो, अब लेबल–३ मा अध्यागमनले जाँच गर्नेछ । नेपाली विद्यार्थीको मात्र भर पर्ने कलेज र विश्वविद्यालयलाई यसले केही समय असर पार्ने सक्छ ।’

घिमिरेका अनुसार कलेज अध्ययनपछि आफूले पढेको विषयमा काम नगरेर अन्य सजिलो काममा लाग्ने भएकाले अध्यागमनले एसेसमेन्ट अनुसन्धान गरिराख्छ । कलेजमा एक तहको पढाइ सकिएपछि अर्को तहमा भर्ना हुँदा अध्ययन र बस्दा हुने खर्चको सम्पूर्ण विवरण बुझाउनुपर्छ । लेभल १ र २ का शिक्षण संस्थाहरूमा अध्ययनका लागि आवेदन दिँदा सिओई, पासपोर्ट, बिमा, जेटिइइ, एसओपी र फर्म मात्र पेश गरे पुग्थ्यो ।

कार्यकारी अधिकृत घिमिरेका अनुसार एसेसमेन्ट–३ ले जेनियुन विद्यार्थी, एजेन्ट र परामर्शदातालाई कुनै प्रभाव पार्दैन । अब सबै विद्यार्थीले राम्रो अंग्रेजी र आर्थिक स्रोत देखाउनुपर्छ । बैंक र जग्गा दलालले कन्सल्टेन्सीसँग मिलेर अस्ट्रेलिया पढ्न आउने विद्यार्थी र अभिभावकको शोषण गर्न सक्नेतर्फ कार्यकारी अधिकृतले घिमिरेले औल्याए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *