नेपाली पहिचान बोकेको २ शेरपास विश्व क्राफ्ट बियर मञ्चमा चम्किँदै

सिड्नी । अष्ट्रेलियामा नेपाली प्रवासीहरूको पहलमा स्थापना भएको २ शेरपास ब्रुइङ कम्पनीले अन्तर्राष्ट्रिय क्राफ्ट बियर बजारमा आफ्नो सशक्त उपस्थिति जनाउँदै नेपाली पहिचानसहित विश्व मञ्चमा उभिन सफल भएको छ। सानो सोच तर ठूलो विश्वासका साथ सुरु भएको यो उद्यम आज विश्वका प्रतिष्ठित क्राफ्ट बियर प्लेटफर्महरूमा प्रतिस्पर्धा गर्न सक्षम बनेको कम्पनीले जनाएको छ। हालै सिड्नीमा आयोजित एक कार्यक्रममा कम्पनीका निर्देशक दीपेश श्रेष्ठले २ शेरपासको स्थापना, विकास यात्रा र भावी योजनाबारे जानकारी गराउँदै यसलाई व्यवसाय मात्र नभई नेपाली पहिचान र हिमाली प्रेरणाको प्रतिनिधि ब्रान्डका रूपमा अघि बढाइएको बताए।

अष्ट्रेलियाकै सबैभन्दा ठूलो क्राफ्ट बियर महोत्सव ‘ग्याब्स २०२५’ मा २ शेरपासको ‘रक जक हेजी आइपिए’ छनोट हुनु कम्पनीका लागि महत्वपूर्ण उपलब्धि मानिएको छ। विश्वका चर्चित क्राफ्ट बियर ब्रान्डहरूसँग एउटै मञ्चमा प्रस्तुत हुनुले २ शेरपासको गुणस्तर, नवप्रवर्तन र अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक क्षमताको पुष्टि गरेको निर्देशक श्रेष्ठले बताए। यसै क्रममा कम्पनीले हिमालयन लागर, एभरेस्ट पेल एले, यति एक्सपिए र रक जकजस्ता उत्पादनहरू जापान निर्यात सुरु गरिसकेको जानकारी पनि दिइयो। जापानी बजारमा यी उत्पादनहरू ‘अष्ट्रेलियन बियर’ होइन, ‘नेपाली बियर’ को पहिचानसहित प्रस्तुत गरिएको उनले बताए।

यस अवसरमा कम्पनीले आफ्नो नयाँ उत्पादन ‘पिकी पिल्सनर’ पनि सार्वजनिक गरेको छ, जसमा हिमाली ताजापन र युरोपेली बियर शैलीको सन्तुलित मिश्रण रहेको बताइएको छ। साथै, २ शेरपासका विभिन्न बियरहरू अष्ट्रेलियाको प्रतिष्ठित ‘ग्याब्स हटेस्ट १००’ प्रतियोगितामा मनोनयनमा परेका छन्। निर्देशक श्रेष्ठले नेपाली समुदाय र शुभचिन्तकहरूलाई मतदानमार्फत समर्थन जनाउन आग्रह गर्दै मतदान गर्दा कम्तीमा पाँचवटा बियर छनोट गर्नुपर्ने जानकारी दिएका छन्। मतदान सन् २०२६ जनवरी ११ सम्म www.gabshottest100.com मार्फत गर्न सकिनेछ। एशफिल्डमा आधारित २ शेरपास ब्रुइङ कम्पनीले नेपाली पहिचान, गुणस्तर र नवप्रवर्तनलाई प्राथमिकतामा राख्दै अन्तर्राष्ट्रिय बजारमा आफ्नो उपस्थिति थप मजबुत बनाउँदै गएको जनाएको छ।