सिड्नी । धर्म जागरण महा सत्सङ्ग नामक विशेष आध्यात्मिक कार्यक्रम सन् २०२६ जनवरी २, ३ र ४ तारिख (वि.सं. २०८२ पुस १८, १९ र २०) का दिन सिड्नीमा आयोजना हुने भएको छ। श्री योगी नरहरिनाथ एवं आदित्यनाथ फाउन्डेसन अष्ट्रेलियाको आयोजनामा हुन लागेको यस महा सत्सङ्गमा अन्तर्राष्ट्रिय कथावाचिका राधिकादेवी दासीको प्रमुख कथा प्रवचन रहने आयोजकले जानकारी दिएका छन्।
कार्यक्रम बिहान १०:१५ बजेबाट बेलुकी ४ बजेसम्म सञ्चालन हुनेछ भने स्थल ग्रान्ड प्यालेस फङ्सन सेन्टर, १२/२१९ परामाट्टा रोड, ओबर्न, सिड्नी तोकिएको छ। कार्यक्रममा नेपालबाट गुरु डा. भोलानाथ योगी विशेष अतिथिका रूपमा सहभागी हुनुहुनेछ।
आयोजकका अनुसार यस महा सत्सङ्गको उद्देश्य नाथ योग दर्शन, सनातन धर्म, संस्कृति तथा प्रवासी नेपाली समुदायमा आध्यात्मिक चेतना अभिवृद्धि गर्नु रहेको छ। राधिकादेवी दासीको कथावाचन तथा भक्तिपूर्ण प्रस्तुतीमार्फत धर्म, संस्कार र आत्मचेतनाको सन्देश प्रवाह हुने विश्वास आयोजक पक्षले व्यक्त गरेको छ।
कार्यक्रमको तयारी तीव्र रूपमा अगाडि बढिरहेको जनाउँदै सिड्नीमा यस प्रकारको धर्म जागरण महा सत्सङ्ग पहिलोपटक आयोजना हुन लागेको जानकारी दिइएको छ। सनातन संस्कृति, धार्मिक चेतना र नेपाली आत्मपहिचानको संरक्षण तथा प्रवर्द्धनमा यस्तो कार्यक्रमले प्रवासमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ। आयोजकले सम्पूर्ण नेपाली समुदाय तथा श्रद्धालुहरूलाई उपस्थित भई कार्यक्रम सफल बनाउन आग्रह गरेका छन्।






