तक्दीर अधिकारी
सिड्नी । लोक दोहोरी गायिक बबिता बानियाँ जेरीले आफूलाई पराजित गर्न सक्नले मात्र दोहोरी खेल्न आउनु भनेकी छन् । गोरखा समाज अस्ट्रेलियाले आइतबार आयोजना गर्ने गाइजात्रा तथा तीज विशेष कार्यक्रममा सहभागी हुन सिड्नी आइपुगेकी जेरीले यस्तो बताएकी हुन् । तपाईं दोहोरी गाउन तयार हो भन्ने लन्डन नेपाल न्यूज डट कमको जिज्ञासामा जेरीले भनिन्, जेरीवाचन गरेर मात्रै मेरो चित्त बुझ्दैन, म आइसकेपछि दोहोरीको माहोल बन्नुपर्छ भनेर मैले आयोजकलाई भनिसकेको थिएँ । अस्ट्रेलियामा पनि दोहोरी गायकहरु हुनुहुन्छ उहाँहरुले भन्नुभएकाले म दोहोरी गाउँनका लागि तयार भएर आएको छु ।
जसले जित्छ उसले जेरीलाई राख्न पाइन्छ भन्ने जिज्ञासामा उनले भनिन्, भन्नेहरुले के अर्थ लगाउँछन् मलाई थाहा भएन, तर जेरीलाई राख्ने आँट भएको मैले अहिलेसम्म भेटेकी छैन । जित्ने भए मात्र आफूसँग दोहोरी खेल्न उनले आग्रह गरिन् । पराजित भए मसँगै नेपाल फर्किनुपर्छ, यदि त्यसो भयो भने राम्रो हुँदैन, जेरीको चुनौति थियो ।

पाँचजना पराजित भए पाँचैजना लैजानु हुन्छ भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले भनिन, लैजान्छु, गोरखाका खेतबारी बाँझै छन्, खेतला चाहिएको छ । जेरीसँग सिड्नी आइपुगेका अर्का हास्य प्यारोडी गायक राजा राजेन्द्रले प्रवाशमा गाइजात्रा कार्यक्रम आयोजना गर्ने अस्ट्रेलिया पहिलो भएको बताए । नेपालको गाइजात्रा कार्यक्रम छुटे पनि अस्ट्रेलियामा त्यो माहोल बन्ने कुरामा आफूहरु ढक्क रहेको कलाकार राजेन्द्रको कथन थियो ।
उनीहरुलाई रिसिभ गर्ने सिड्नी विमानस्थलमा गोरखा समाजका पदाधिकारीहरु पगेका थिए । गोरखा समाजका अध्यक्ष त्रिलोचन पोखरेलले आइतबार आयोजना हुन् कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिँदै नयाँ किसिमको कार्यक्रमको स्वाद लिन सिड्नीवासी नेपाली समुदायलाई सहभागिताका लागि अनुरोध गरे । समाजका सदस्य तथा एड्भान्स कलेज एन्ड हेल्थका म्यानेजिङ डाइरेक्टर ईश्वर दाहालले कलाकारलाई खाँदा ओढाएर स्वागत गरे । उनले पनि कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए ।
प्रिमो एजुकेशन एन्ड भिसा सर्भिसका म्यानेजिङ डाइरेक्टर दिपक केसीले कार्यक्रमलाई सफल बनाउन सिड्नीवासी नेपाली समुदायको महत्वपूर्ण योगदान रहने बताए । उनले कार्यक्रममा सहभागिताका लागि अनुरोध गरे ।
कार्यक्रमको मुख्य प्रायोजक मल्टी डाइनामिक रहेको छ । गत वर्षदेखि समाजले यस्तो कार्यक्रम अयोजना गर्न थालेको जानकारी समाजका सचिव शिव बन्जारा दिए । फरक कार्यक्रमबाट फरक स्वाद लिने हो भने ह्वाइट पार्कमा अगस्ट १८ आइतबार आयोजना हुने कार्यक्रममा सहभागी हुन उनले अनुरोध गरे । नेपालबाट आएका कलाकारलाई अस्ट्रेलियामा रहेका दिवाकर रिजाल, रञ्जन देवकोटा, रोशन रेग्मी, सुगम पाखरेल, रेखा भट्ट, इन्दिरा लामिछाने, बबिता अधिकारीलगायतले साथ दिने जानकारी सचिव बन्जराले दिए ।
https://www.facebook.com/londonnepalnews/videos/669870370181983/?t=65






