प्रचण्ड र माधव नेपाल एउटै सभामा, कसले के भने ?

काठमाडौँ– शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन महत्वपूर्ण भूमिका खेलेका एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र माओवादी अध्यक्ष प्रचण्ड शनिबार एकै सभामा देखिएका छन् ।
नेपालको चुनावी क्षेत्र काठमाडौँ–२ मा प्रचण्ड पुगेका हुन् ।
सो अवसरमा प्रचण्डले केही दिन अघिदेखि नै नेपालको चुनावी सभामा सहभागी हुने इच्छा भए पनि व्यस्ताका कारण नभ्याएको भन्दै सहभागी भएर मतदातासँग मत माग्न पाएकोमा खुशी व्यक्त गरे ।
‘केही दिन अघिदेखि नै म यहाँ आउने तयारीमा थिएँ । प्राविधिक कारणले आउन सकिन,’ प्रचण्डले भने, ‘शान्तिप्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउने मध्येका एक पात्र माधव नेपाल राजनीतिक संकटलाई पार लगाउन सकने क्षमता भएको व्यक्तित्व हुनुहुन्छ ।’
मतदातासँग मतमाग्दै करिब एक घण्टा पेप्सीकोला क्षेत्रमा बिताएका प्रचण्डले वामगठबन्धनका पक्षमा खुलेर मत हाल्न मतदातासँग अपिल पनि गरे ।
‘यो क्षेत्रका लागि मात्र होइन नेपालको राजनीतिका लागि पनि आवश्यक व्यक्ति हुनुहुन्छ माधव नेपाल,’ प्रचण्डले भने, ‘यस्तो व्यक्ति तपाईँहरुले प्राप्त गर्नुभएको छ । यो तपाईँहरुको पनि गौरवको कुरा हो ।’
प्रचण्डले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउने एक महत्वपूर्ण पात्र नेपाललाई विजयी बनाएर पठाउनु भनेको वाम एकतालाई वलियो बनाउनु पनि भएको दाबी गरे ।
प्रचण्डपछि मन्तव्य राखेका नेपालले पनि प्रचण्डको खुलेर प्रशंषा गरे । ‘हामी दुई जनता फरक–फरक आन्दोलनका प्रतिक हौँ,’ नेपालले भने, ‘अहिले एकै ठाउँ उभिएका छौँ । प्रचण्डजी फड्को हानेर जोखिम मोल्ने अर्थात राजनीतिलाई निर्णायक मोड दिन सक्ने क्षमताको व्यक्ति हुनुहुन्छ ।’
‘उहाँ राजनीतिका लागि कुशल व्यत्तित्व पनि हो,’ नेपालले थपे ‘हामी एकै ठाउँ छौँ । राजनीतिलाई निर्णायक मोड दिन सक्ने क्षमताका व्यक्ति प्रचण्डजी र हामी एकै ठाउँ भएपछि वाम मुलुक वाममय बन्नेछ’ नेपालले त्यसो भन्दा मतदाताले ‘पुसको पहिलो हप्तामा वाम गठबन्धन सत्तामा, वाम एकता जिन्दावाद’ भन्दै नारा लगाएका थिए ।