लण्डन । बेलायतको नेपाली डायस्पोरामा चर्चित नर्स, कलाकार एवं मोडल प्रसुना कंडेलले एनआरएनए यूके महिला उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेकी छन् ।
नेप्लिज नर्सिङ एसोसिएसन यूकेकी पूर्व अध्यक्ष एवं एनआरएनए यूके महिला संयोजक समेत रहेकी कंडेलले सामाजिक कार्यलाई निरन्तरता दिन एनआरएनएको महिला उपाध्यक्षमा उम्मेद्वारी घोषणा गरेको लण्डन नेपाल न्यूजसँग बताइन् ।

उनले भनिन्, कुनै राजनीतिक प्रभावबिना निस्वार्थ कामका लागि चुनावी मैदानमा उत्रिने निर्णय गरेकी छु, मलाई सबैले सहयोग गर्नु हुनेछ भन्ने आशा छ ।’ एनआरएनमा निर्वाचित हुने पदाधिकारीहरुसँग सहकार्य गर्दै सामाजिक रुपान्तरणको निम्ती सक्रिय रहेर काम गर्ने उनले प्रतिबद्धता जनाइन् ।
सन् २००५ सेप्टेम्बरदेखि बेलायत बस्दै आएकी प्रसुनाले नर्सिङ, च्यारिटी काम, मोडलिङ र अभिनयका विभिन्न क्षेत्रमा रहेर काम गर्दै आएकी छन् । कडा परिश्रम, संकल्प, समर्पण र इमान्दारीता आफ्नो मूलमन्त्र र सफलताको कारक मान्ने उनी क्रिटिकल केयर आउटरिच नर्स स्पेशलिष्ट हुन् ।
रोयल कलेज अफ नर्सिङको लर्निङ एण्ड डेभलप्मेन्ट एण्ड हेल्थ एण्ड सेफ्टी प्रतिनिधि समेत रहेकी प्रसुनाले यूनिभर्सिटी अफ लन्डनबाट हेल्थ केयर लिडरसीपमा स्नातकोत्तर गरेकी छन् । हाल नेप्लिज नर्सिङ एसोसिएसन यूकेकी सल्लाहकार प्रसुना नेप्लिज वुमन एसोसिएसन यूके र नेप्लिज ब्लड डोनर्स यूकेको महासचिव भइसकेकी छन् । प्रसुना एनआरएनए यूके ग्लोबल हेल्थ कम्युनिटीको नर्सिङ कमिटिको उपाध्यक्ष समेत हुन् ।
विश्वव्यापी फैलिएको कोभिडको समयमा आईसीयूमा बिरामीको सेवा गरिरहेकी उनले सामाजिक सञ्जाल मार्फत पनि कोभिड सम्बन्धी सचेतना चलाउँदै आएकी छन् । महाभूकम्प गए लगत्तै नेप्लिज नर्सिङ एसोसिएसन यूकेको एउटा टोलीको नेतृत्व गर्दै उनी नेपालको धादिङ, मकवानपुर, काभ्रे, सिन्धुपाल्चोक, रसुवा, दोलखा, काठमाडौं, भक्तपुर, ललितपुर लगायत ९ वटा जिल्लामा अहोरात्र खटिएकी थिइन् । सो टोलीले भूकम्प पीडित झण्डै दुईहजार परिवारको उपचार गरेको थियो ।

उनले बेलायतस्थित परोपकारी संस्था अक्सफामसंग आवद्ध रहेर विभिन्न परोपकारी कामका लागि अर्थ संकलन पनि गरेकी छन् । हेल्प नेपाल नेटवर्कको रु १० करोडको अक्षयकोषका लागि एकजना संयोजकको रुपमा पनि काम गरेकी प्रसुना माइती नेपाल, पवित्र समाज नेपाल, रत्न आश्रम, रेन्बो चाइल्ड फाउन्डेसन लगायतका थुप्रै परोपकारी संस्थामार्फत् मानवीय सहायतामा जुटिसकेकी छन् ।
एनआरएनए यूकेको नारी दिवस कार्यक्रममा पनि उनको निरन्तर संलग्नता र योगदान रहंदै आएको छ । नेपालको धादिङमा जन्मिएकी प्रसुना सामाजिक सेवाका अतिरिक्त फिचर फिल्म, म्यूजिक भिडियो, सर्ट मुभिज, विभिन्न म्यागेजिन तथा रयाम्पमा समेत मोडलिङ गरिसकेकी छन् । त्यसैगरी उनी कयौं अवार्डसहित सम्मानित पनि भएकी छिन् । नर्सिङ तथा स्वास्थ्य क्षेत्रका थुप्रैसंघसंस्थाहरुमा आवद्ध रहेकी उनले बेलायतमा रहेका नेपालीहरुको स्वास्थ्यको निम्ती थुप्रै कामहरु गरेकी छिन् ।

लण्डन नेपाल न्यूजसँग कुराकानी गर्दै उनले महिला सशक्तिकरण र उनीहरुको चौतर्फी विकासमा योगदान पुर्याउने, संस्थामा आफ्नो सीप क्षमता अनुसारको काम गर्ने, आउने अध्यक्ष तथा पदाधिकारीहरुसँग सहकार्य गर्ने, संस्थाको लक्ष्यप्राप्तिमा खटिने, स्वास्थ्य क्षेत्रमा सम्पूर्ण स्वास्थ्यकर्मीहरुलाई समावेशी गराएर स्वास्थ्यतर्फ काम गर्ने र नेपालमा पनि स्वास्थ्य क्षेत्रको निम्ती काम गर्ने आफ्ना एजेन्डा रहेको जानकारी दिइन् ।
त्यस्तै उनले विभिन्न संघसंस्थाहरुसँग हातेमालो गर्दै देश संस्कृति, कला साहित्य, स्वास्थ्य, महिला, युवा र अग्रजहरु तथा समाजको विकासको निम्ती काम गर्ने समेत प्रतिवद्धता व्यक्त गरिन् ।






