प्रधानमन्त्री ओलीको भेटघाट तालिकाः ‘१ गते धुम्बराही, १५ गते पेरिसडाँडा’

????????????????????????????????????

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद र पार्टी कार्यकर्ताहरुलाई साप्ताहि तथा पाक्षिक रुपमा भेटघाट गर्ने भएका छन् । प्रधानमन्त्री ओलीको निजी सचिवालयले आज एक विज्ञप्ति जारी सो कुराको जानकारी दिएको हो ।

प्रधानमन्त्री ओलीले आफ्नो नियमित भेटघाट कार्यक्रमका अतिरिक्त हरेक शुक्रबार प्रतिनिधिसभा तथा राष्ट्रियसभामा नेकपाको तर्फबाट प्रतिनिधित्व गर्ने सांसदहरुसँग भेट गर्ने कार्यक्रमको तालिका बनेको छ । नियमित रुपमा शुक्रबार ३ बजेदेखि ५ बजेसम्म प्रधानमन्त्री ओलीसँग सिंहदरबारमा प्रदेशगत रुपमा सांसदहरुको भेटघाट हुने व्यवस्था मिलाईएको छ ।

नेकपा संसदीय दलका नेता समेत रहनुभएका प्रधानमन्त्री ओलीसँग साप्ताहिक रुपमा क्रमशः सातवटै प्रदेशबाट प्रतिनिधित्व गर्ने नेकपाका सांसदहरुको भेटघाट हुने नियमित कार्यक्रम तय गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा.कुन्दन अर्यालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

त्यस्तै प्रधानमन्त्री ओलीले हरेक महिनाको १ र १५ गते नेकपाका कार्यकर्ताहरुसँग भेटघाट गर्ने जनाइएको छ । उनले हरेक महिनाको पहिलो दिन बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म नेकपाको धुम्बराहीस्थित कार्यलयमा र १५ गते पेरिसडाँडास्थित कार्यलयमा पार्टी कार्यकर्ताहरुसँग भेटघाट गर्ने छन् ।