शिव भण्डारी /लन्डन
गैर आवासीय नेपाली संघ (एनआरएन ) एसिया प्याशेफिक सम्मेलनको प्रमुख अतिथिको रुपमा कृषि मन्त्री चक्रपाणी खनालको टुंगो लागेको छ । यही डिसेम्बर ८ र ९ तारिखका दिन हुन लागिरहेको सम्मेलनमा प्रमुख अतिथिको रुपमा खनाल नेपाल सरकारको तर्फबाट प्रतिनिधित्व गर्दै सहभागि हुने भएका हुन ।
नेपाल सरकारको तर्फबाट मन्त्री खनालले सो सम्मेलनमा सहभागि भई कार्यक्रमको उद्घाटन गर्नेछन् । एनआरएन हङकङ अध्यक्ष एवं सम्मेलन तयारी समिति सदस्य सचिव राधिका गुरुङ (टिका ) का अनुसार सम्मेलनमा एनआरएनका संस्थापकअध्यक्षदेखि पूर्वअध्यक्ष हुँदै आइसिसी पदाधिकारीसमेतको सहभागिता रहनेछ ।
सम्मेलनमा क्षेत्रीय समितिमा आबद्ध चीनसहितका प्रतिनिधि गरि तीन सयभन्दा बढीको सहभागिता हुने अध्यक्ष टिका गुरुङले लन्डन नेपाल न्यूज डटकमलाई जानकारी दिनुभयो ।
अध्यक्ष गुरुङका अनुसार सम्मेलनको तयारी लगभग पूरा भएको छ । सम्मेलनमा सहभागि हुनेको भिसा प्रक्रियाको काम सकिएको छ भने गर्नुपर्ने आन्तरिक तयारीसमेत सम्पन्न भइसकेको छ । सम्मेलन तयारीको लागि क्षेत्रीय संयोजक किरण थापा डिसेम्बरको पहिलो साता हङकङमा पुग्ने भएका छन् । जापानमा रहेका थापा त्यही बसेर आफनो पक्षबाट गर्नुपर्ने काम गरिरहेका छन् ।






